इटहरी । इटहरी उपमहानगरपालिकाको नगरसभा स्थगित हुनु नगरवासीप्रतिको धोका भएको रास्वपा नेता तथा संघीय सांसद अशोककुमार चौधरीले आरोप लगाएका छन् । उनले नगरसभा बैठक तुरुन्त बोलाएर कर समायोजन गर्न माग गरेका छन् ।
आर्थिक रुपमा अत्यन्तै जटिल अवस्थाबाट गुज्रिरहेका नागरिकलाई राहत दिन इटहरी सरकार असक्षम रहेकोसमेत उनले विज्ञप्तीमार्फत आरोप लगाएका छन् । आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषणमार्फत् कायम भएको अवैज्ञानिक कर र राजस्वका दर समायोजन र पुनरावलोकन गर्न गठित कार्यदलको प्रतिवेदन हालैको कार्यपालिकाले पारित गरेपनि नगरसभामा लाने बेलामा नगरसभा नै स्थगित हुनु दुःखद भएको उनले बताएका छन् ।
‘कर समायोजन तथा पुनरावलोकन गर्नका लागि विगत ६ महिनादेखि सडक र सदनबाट गरिएको खबरदारी र नागरिकहरूले कर वृद्धिको विरोधमा ३० हजार हस्ताक्षर संकलन गरि बुझाएको मागलाई सफल बनाउने महत्वपूर्ण नगरसभाको बैठक अन्तिम क्षणमा स्थगित हुनु नियोजित र दुभाग्यपूर्ण छ ।’ विज्ञप्तीमा उल्लेख छ, ‘इटहरीको विकास, समृद्धि, तथा समस्याहरु समाधानका निमित्त संवाद, सहमति र सहकार्य गर्ने, जनताको मुद्दामा निरन्तर लागि रहने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिबद्धतालाई कमजोरीको रुपमा नलिन स्थानीय सरकारका प्रमुख साथै नगर सभाका बहुमत प्राप्त सम्बन्धित दललाई समेत सचेत गराउन चाहान्छौं। फेरि चलखेल नहोस हाम्रो खबरदारी जनताको पक्षमा निरन्तर रहिरहनेछ।’
इटहरीको नगरसभा स्थगित, एमालेले गर्यो विरोध
कर विवादमा एमालेले भ्रम फैलाउन खोजेको मेयर पौडेलको आरोप
इटहरीमा बढाइएको कर घटाइने, नगरसभामा निर्णय गरेर लागु गरिने
कर घटाउनको लागि एमाले जनप्रतिनिधिले मागे विशेष अधिवेशन