इटहरी । इटहरी उपमहानगरपालिकाले करको दर समायोजन गर्ने भएको छ । बुधबार बसेको इटहरी उपमहानगरपालिकाको १३६ औं कार्यपालिका बैठकले कर समायोजन गर्ने निर्णय गरेको हो ।
कार्यपालिका सदस्य तथा वडाध्यक्ष उमेश सुवेदीको नेतृत्वमा बनेको कर समायोजन समितिले दिएको प्रतिवेदनअनुसार करको दर समायोजन गर्ने निर्णय गरिएको उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले घोषणा गरे ।
उनले सम्पत्ती कर, लिखत पाससम्बन्धि व्यवस्था, निजी विद्यालयसम्बन्धि कर, वैदेशिक रोजगारीसम्बन्धि कर र साना तथा मझौला व्यवशायीहरुले तिर्नुपर्ने करहरु नगरसभाबाट घटाउने बताए । कार्यपालिका बैठकले पुस २३ गतेको लागि नगरसभाको मितिसमेत तोकेको छ ।
कार्यपालिका बैठकमा सहभागि सदस्यहरुले तत्काल कार्यान्वयनमा लगेर नगरसभाबाट अनुमोदन गर्न जोड गरेका थिए । ‘जनतालाई पर्खाएर आजको दिनमा आएका छौं, करको प्रतिवेदनलाई निर्णयार्थ प्रस्तुत गरौं, तत्काल कार्यान्वयनमा लगौं, नगरसभाबाट पछि अनुमोदन गरौं,’ सुवेदीले भने ।
मेयर पौडेलले भने लिखत पाससम्बन्धि व्यवस्था र वैदेशिक रोजगारीसम्बन्धि करहरुबारे निर्णय गरेर एकैपटक नगरसभाबाट पास भएपछि मात्र घटेको कर लागु गर्ने बताए । ‘लिखत पाससम्बन्धि व्यवस्था र वैदेशिक रोजगारीसम्बन्धि करहरुबारे छलफल गर्न बाँकी छ, आगामी कार्यपालिका बैठकमा छलफल गरेर नगरसभामा लगेर पास गरेपछि कार्यान्वयन गरिनेछ,’ उनले भने ।
फिर्ता भयो विशेष सभाको माग
यस्तै यसअघि नगरसभामा प्रतिनिधित्व गर्ने एमालेका ४३ जना सदस्यले हस्ताक्षर गरेर आह्वान गरेको विशेष अधिवेशनको माग फिर्ता लिएको घोषणा गरिएको छ ।
सम्पत्ती कर समायोजनका लागि भन्दै विशेष अधिवेशन माग गरिएको थियो । कर समायोजन गर्ने निर्णय कार्यपालिकाबाट भएसँगै विशेष अधिवेशनको औचित्य सकिएकोले फिर्ता लिएको कार्यपालिका सदस्य सुवेदीले बताए । माग फिर्ता लिएपछि मेयर पौडेलले धन्यवाद दिएका थिए ।
डकुमेन्ट मेच्योर होस् भनेर कर घटाउन ढिला गरेको हुँ : नगरप्रमुख पौडेल
बैठकमा मेयर पौडेलले कर घटाउने निर्णय ढिलो गर्नुको कारण खुलाएका छन् । उनले सबै कुराको बेला आउने बताउँदै डकुमेन्ट मेच्योर भएर र सभा नजिक आएपछि निर्णय गर्ने भनेर आफूले थाँती राखेको बताए ।
‘पहिला नै कार्यपालिकाबाट पास भएको भए विशेष सभा बोला भन्नुहुन्थ्यो,’ उनले कर समायोजन गर्ने कुराको विपक्षमा आफू कहिलेपनि नरहेको बताउँदै भने, ‘त्यसैले अहिले गर्दा नगरसभा पनि नजिकै भएकोले सजिलो भएको हो ।’
उनले विशेष सभा बोलाउन पनि आफूले आनाकानी गरेको बताए । ‘मैले आनाकानी गरेकै हो,’ उनले भने, ‘त्यसो गर्नु भनेको गलत ट्रयाकमा हिड्नु हो, सहमती नखोजेर विशेष सभा बोलाउँदा भविष्यमा गलत ट्रयाकमा जान्छ ।’
इटहरीको कर संकलनमा नआउने भयो सुधार
कर समायोजनको निर्णय पुस २३ गते हुने भएपछि पुस मसान्तसम्ममा इटहरी उपमहानगरपालिकाको कर संकलन स्थिती निराशाजनक रहने भएको छ । इटहरीका अधिकांश करदाताहरु कर घट्ने आशमा कर नतिरि बसेका छन् ।
यसअघि इटहरी उपमहानगरपालिकाले पुस मसान्तसम्ममा कर तिर्ने करदातालाई कर छुट दिँदै आएको थियो । छुटको लोभमा पनि धेरैले पुस मसान्तमा कर तिर्ने गरेका थिए । तर यो पटक निर्णय नै ढिलो हुने हुँदा पुस मसान्तसम्म कर छुट दिने प्रावधानलाई यो पटक माघसम्म सार्न कार्यपालिका सदस्य तथा वडा नं. ९ का अध्यक्ष जितेन बस्नेतले माग गरेका थिए ।
मेयर पौडेलले ऐनमा भएको उक्त व्यवस्थालाई नगरसभाबाटै परिवर्तन गर्न सकिने बताउँदै अर्को कार्यपालिका बैठकमा छलफल गर्ने बताए ।
कर विवादमा एमालेले भ्रम फैलाउन खोजेको मेयर पौडेलको आरोप
इटहरीको नगरसभा स्थगित, एमालेले गर्यो विरोध
इटहरीमा बढाइएको कर घटाइने, नगरसभामा निर्णय गरेर लागु गरिने
कर घटाउनको लागि एमाले जनप्रतिनिधिले मागे विशेष अधिवेशन