इटहरीको नगरसभा स्थगित, एमालेले गर्यो विरोध

न्युजलय ११ पुस २०८०, बुधबार ०८:४९ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिकाको १४ औँ नगरसभा बैठक स्थगित गरिएको छ । बुधबारदेखि हुने भनिएको नगरसभा अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो । 


बिना कारण बैठक स्थगीत गरिएको भन्दै इटहरी नगरसभामा प्रतिनिधीत्व गर्ने नेकपा एमालेका नगरसभा सदस्यले नाराबाजी सहित विरोध गरेका छन् । 


बुधबार दिउँसो १ बजेका लागि आह्वान गरिएको नगर सभा अन्तीम समयमा आएर स्थगित गरिएको वडा नं. ३ का वडाध्यक्ष उमेश सुवेदीले जानकारी दिए । स्पष्ट कारण नखुलाइ नगरसभा बैठक स्थगित गरेको भन्दै एमालेका जनप्रतिनिधीले सभा स्थलमा नाराबाजी गरेका थिए ।


कार्यपालिका सदस्य तथा इटहरी ३ का वडाध्यक्ष उमेश सुवेदीको नेतृत्वमा बनेको कर समायोजन समितिले दिएको प्रतिवेदन अनुसार करको दर समायोजन गर्ने निर्णय हुने भनिएकै कारण नगरसभा स्थगित गरिएको आरोप एमाले सम्बद्ध नगर सभा सदस्यहरुको छ । 


नगरसभा स्थगित गरिएपछि नेकपा एमाले इटहरी नगर कमिटिले विज्ञप्ती जारी गर्दै कर समायोजन गर्नको लागि भएपनि नगरसभा पुनः सुरु गर्न माग गरेको छ । संवाद र सहकार्य गर्ने आफूहरुको प्रतिबद्धतालाई कमजोरी नठान्न चेतावनी समेत दिएको छ ।


यो नगरसभाबाट कर समायोजन गर्ने निर्णय इटहरीको कार्यपालिका बैठकले गरिसकेको छ । सोही कार्यपालिका बैठकले पहिले पुस २३ गते नगरसभा गर्ने भनेपनि पछि ११ गतेलाई सारेको थियो । आफूहरुसँग छलफल नै नगरी बैठक स्थगित गरेको भन्दै एमाले नगर सभा सदस्यहरु असन्तुष्ट बनेका छन् ।


यता नगरका प्रवक्ता वडा नं. ६ का वडाध्यक्ष दिवस पोख्रेलले भने नगरसभा स्थगित गर्ने कुरा आफूले पनि दिउँसो थाहा पाएको बताए । उनले सम्पत्ती कर समायोजन पूर्ण नभएकोले सोही विषयमा छलफल चलरहेको भएर नगरसभा लम्बिएको हुनसक्ने बताए ।

‘५ वटा वडाको मात्र सम्पत्ती कर घटाउने कुरा प्रतिवेदनमा समेटिएको छ,’ उनले भने, ‘सबै वार्डका वडाध्यक्षहरु राखेर कुरा गरौं, वडाहरुसमेतको निर्णय भएपछि सजिलो हुन्छ भन्ने कुरा नमिलेर हुन सक्छ ।’

उनले इटहरी सरकारले कामहरु गरिरहेको, तर कार्यपालिका सदस्यहरुलाई पनि राजनीतिक दलहरुको प्रेसरले गर्दा राम्रोसँग काम गर्न नदिएको बताए ।