यमपञ्चकको दोस्रो दिन आजः कुकुर तिहार र साँझ लक्ष्मीपूजा गरिँदै

न्युजलय २३ कार्तिक २०८३, आइतबार ०५:५१ मा प्रकाशित

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक चतुर्दशी स्नान गरिँदै छ भने साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरिँदै छ ।

आजको दिन बिहान सबेरै नरक चतुर्दशीको स्नान गरी कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा खानेकुरा दिई पूजा गरिन्छ भने सन्ध्याकालमा घरआँगन झिलीमिली बनाएर धनधान्यकी देवी लक्ष्मीको स्वागत तथा आराधना गरिन्छ ।

आजका दिन सबै नेपालीका घरआँगनमा कुकुरलाई टीका तथा माला पहिर्‍याएर मीठा खानेकुरा दिई सम्मानपूर्वक पूजा गरिन्छ। धार्मिक मान्यताअनुसार कुकुरलाई यमराजको दूत र यमलोकको द्वारपालका रूपमा लिइन्छ। 

भैरवको वाहनसमेत मानिने कुकुरलाई सुरक्षाकर्मी, आज्ञाकारी र गुनिलो जनावरका रूपमा लिइन्छ । कुकुरले सुँघेर अपराधी पत्ता लगाउने तथा विनाशकारी प्राकृतिक प्रकोप वा दैवी विपत्ति आउनु अगावै पूर्वसूचना दिने गर्दछ ।

आजै साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी अधिष्ठात्री देवी लक्ष्मीको पूजा आराधना गरिन्छ।