अभिभावक संघले भन्यो, ‘अहिले नयाँ पोशाक किन्न सक्दैनौं, शुल्क चाहिँ नियमन गर’

न्युजलय १७ बैशाख २०८१, सोमबार १२:१७ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिकाले लागु गर्न खोजेको ड्रेस कोडविरुद्ध चौतर्फी दबाब बढ्दै गएको छ ।


सुरुमै निजी विद्यालय र तिनका संघ संगठनले विरोध जनाएकोमा पछि उपमेयरलगायत कार्यपालिकाका बहुमत एमाले जनप्रतिनिधिहरुले समेत विरोध जनाउँदै लागु नगर्न आह्वान गरेका थिए । त्यसपछि अहिले नागरिक समाज इटहरी र अविभावक संघलेसमेत ड्रेस कोड लागु गर्न नसकिने जनाएको छ ।


जिल्ला अभिभावक संघ सुनसरीले उपप्रमुख संगीता चौधरीमार्फत् उपमहानगरपालिकालाई ध्यानाकर्षण बुझाएको छ । जसमा ‘आर्थिक मन्दीको समयमा नयाँ पोशाक किन्न सक्ने अवस्थामा आफूहरु नरहेको’ उल्लेख छ । यस्तै एउटै पोशाकले शैक्षिक अराजकता निम्तिने हुँदा पोशाक एउटै बनाउन नहुनेसमेत भनिएको छ । 


अध्यक्ष हरि तिम्सिनाको हस्ताक्षर रहेको उक्त ध्यानाकर्षणपत्रमा आफूहरुसँग सो विषयमा परामर्श नलिएको उल्लेख छ । यस्तै संघले शुल्कको विषयमा प्रभावकारी अनुगमन गर्नसमेत माग गरेको छ । उपमहानगरपालिकाले निजी विद्यालयले लिइरहेको मनपरी शुल्कमा समेत नियमन गर्न खोजेको थियो । धेरै अविभावकहरुले उक्त विषयलाई सकारात्मक रुपमा लिएका थिए । तर ड्रेस कोड र शुल्कको विषयलाई सँगसँगै लगिएपछि दुवै लागु नहुने सम्भावना बढेको छ ।


ड्रेस कोडविरुद्ध चौतर्फी अवरोध

उपमहानगरपालिकाको शिक्षा समितिको बैठकको निर्णयअनुसार मेयर हेमकर्ण पौडेलले सबै विद्यालयका विद्यार्थीहरुलाई उस्तै रंगको ड्रेस लागु गर्न खोजेका थिए । शिक्षासम्बद्ध संघसंस्थाका साथै नागरिक समाज र उनकै कार्यपालिका सदस्यहरुबाटसमेत विरोध भएपछि अहिले विद्यालयहरु भने अलमलमा परेका छन् । कतिपय विद्यालयहरुले आउट ड्रेसमै विद्यार्थीहरुलाई पढाइरहेका छन् भने बाँकीले पुरानै ड्रेस लगाएर आउन भनिरहेका छन् । 


सामुदायिकले नै लागु गरेनन्

नयाँ ड्रेस कोड नयाँ शैक्षिक सत्रदेखि लागु हुनुपर्ने हो । वैशाखमा विद्यालय लाग्दा विद्यार्थीहरु सबै एउटै ड्सेसमा आउनुपर्ने हो । तर नयाँ ड्रेस कोड सामुदायिक विद्यालयहरुले पनि लागु गर्न सकेका छैनन् । इटहरीका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुले केहीले नयाँ ड्रेस लगाएपनि धेरैले पुरानै ड्रेस लगाइरहेका छन् । अविभावकहरुले नयाँ ड्रेस किन्न पैसा नभएकोले पुरानै ड्रेसमा विद्यार्थी पठाइरहेको विद्यालय प्रशासनले जानकारी दिएको छ । ‘उपमहानगरपालिकाले त भन्यो, नयाँ दुई जोर ड्रेस, जुत्ता किन्नलाई अविभावकहरुले पैसा छैन भनेर गुनासो गर्नुभएको छ,’ एक विद्यालयका शिक्षकले भने, ‘नयाँ ड्रेस नलाउँदैमा पढाउँदैनौं भन्न पनि मिलेन, त्यसैले पुरानै ड्रेसमा विद्यार्थीहरु आइरहेका छन् ।’

विद्यार्थीको पोशाकबारे बोल्यो नागरिक समाज, पुरानै पोशाक निरन्तरता दिन र विज्ञसँग सुझाव लिन आग्रह

‘निजी विद्यालयलाई साथै लिएर हिड्छु, कीर्ते गरेको आरोप निराधार’ : मेयर पौडेल

इटहरीका एमाले जनप्रतिनिधिको आरोप, ‘शिक्षा ऐन र ओएनएममा कीर्ते गरियो’

अदालती इतिहासमै नौलो घटना : सरकारको ऐन नै दुई खालको पुगेपछि