उपमहानगरले निजी विद्यालयहरुसँग माग्यो शिक्षक र तलब विवरण

न्युजलय ३० फाल्गुण २०८०, बुधबार ०८:४१ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिकाले इटहरीका निजी विद्यालयले शिक्षकहरुलाई दिँदै आएको सेवा सुविधाको विषयमा चासो राखेको छ । निजी विद्यालयमा कार्यरत शिक्षकहरुको शैक्षिक विवरण, नियुक्ती पत्रलगायतका कागजात ७ दिन भित्र बुझाउन पत्राचार गरिएको छ ।


उपमहानगरले निजी विद्यालयमा कार्यरत कर्मचारी तथा शिक्षकहरुको नियुक्त्ती पत्र, अध्यापन अनुमति पत्र, प्र अ नियुक्तीको पत्र र शैक्षिक योग्यताको विवरण माग गरेको हो । 


निजी स्कुलमा कार्यरत शिक्षकहरुले नियुक्ती पत्र नपाएको र सरकारले तोकेको पारिश्रमिक नदिएको गुनासो बढेको भन्दै उपमहानगरले परिपत्र गरेको हो ।


शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख द्रोर्ण प्रसाद दाहालका अनुसार प्रअको नियुक्ती पत्रदेखि कर्मचारी तथा तहगत शिक्षकको पारिश्रमिक विवरणसमेत माग गरिएको दाहालले जनाए ।


इटहरीमा ड्रेस कोड लागु गर्न निजी विद्यालयहरुले असहमती जनाएपछि उपमहानगरपालिका कडाईमा उत्रिएको हो । यसअघि मेयर हेमकर्ण पौडेलले नगरको नीति नमान्ने विद्यालयको फाइल खोल्ने चेतावनी दिएका थिए ।