इटहरीको पुर्वाधार एम्बुलेन्सले हावा खायो, कतै सडकमा धान रोपाइ, कतै स्थानीयले नै थाले मर्मत

हिमाल दाहाल २३ साउन २०८२, बिहिबार ०९:४५ मा प्रकाशित

इटहरी । सडक बिग्रेलगत्तै बनाउने भनेर इटहरी सरकारले पुर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याएको भन्दै प्रचार गर्यो ।तर चोकबजारकै सडक बिग्रेको दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि मर्मत हुन सकेको छैन । 


उपमहानगरपालिका परिसरमा ग्रेडर, रोलरदेखि स्कारभेटरसम्म सडक मर्मत गर्न आवश्यक सबै सवारी साधन छन् । उपमहानगरपालिकासँग नहुँदाको समयमा यी सवारी साधन सडक विभागसँग वा व्यापारीसँग भाडामा लिएर प्रयोग गथ्र्यो ।


तर उपमहानगरपालिका आफैले किनेपछि भने नगरवासीलाई आवश्यक पर्दा ती सवारी साधन काम लाग्दैनन् । सडक मर्मतको लागि गुड्दै नगुडी तेल, मोबिल र मर्मत मात्र खाएर बसेका छन् । कतिपयमा त खिया लागिसकेको देख्न सकिन्छ ।


नगरभरीका सडकहरु स्तरोन्नती र मर्मतको पर्खाइमा बसेका छन् । भित्रि गाउँको कुरै छाडौं, शहर बजारमा गाडी धेरै गुडिरहने बाटोले मर्मत कुरेको दुई वर्षभन्दा बढी समय भइसक्यो, तर मर्मत हुन सकेको छैन ।


उपमहानगरपालिकाले सडक समयमा मर्मत नगरेपछि नगरवासीले विरोध गर्न थालेका छन् । कसैले सामाजिक सञ्जालमार्फत् रोष पोखेका छन् भने कसैले बाटोमै धान रोपेका छन् । त कसैले सडकको दुर्गती देखेपछि मनले नमानेर आफ्नै खर्चमा बाटोको खाल्डो पुरेका छन् ।


इटहरी वडा नं. १० मा सडक मर्मत नगर्दा पानी जमेर हिलो भएपछि स्थानीयले बाटोमै धान रोपेर विरोध जनाएका छन् । हिलो बाटोका कारण आवतजावतमा समस्या भएको र स्थानीय सरकारलाई पटक पटक आग्रह गर्दा पनि सुनुवाई नभएपछि स्थानीयले सांकेतिक विरोध जनाएका हुन् । धान रोपेपछि उपमहानगरपालिकाले मिसगिटी पठाइदिने आश्वासन दिएको छ । तर आश्वासनप्रति स्थानीय विश्वस्त भने छैनन् ।  


यस्तै यता इटहरी ६ र ९ मा पर्ने बिपि चोकका स्थानीय सडक मर्मत गर्न आफै सडकमा उत्रिएका छन् । इटहरी ६ का पुर्ण गौतमले आफ्नो निजि खर्चमा सडक मर्मत गरेका छन् । बाटो बिग्रेर दुर्घटनाको जोखिम बढेको, जनप्रतिनिधिहरुले वास्ता नगरेको भन्दै आफैले गिट्टि झारेर खाल्डो पुरेका हुन् । 


यस्तै सडक मर्मतको लागि आवाज उठाउने क्रममा इटहरी २ की ताजिना विष्ट केही दिनअघि पक्राउ परीन् । आफू दैनिक आवतजावत गर्ने बाटोमा पानी जमेर हिलो भएको र सिटि सफारीसमेत जान नमानेको दुःखेसो उनको थियो ।त्यसबारे पटक पटक उनले भिडियो बनाएर चाँडो मर्मत गर्न माग गर्दै आएकी थिइन् । पछिल्लो एक भिडियोमा उनले मेयरलक्षित फटाहा शब्दको प्रयोग गरेका कारण उनीविरुद्ध उजुरी परेको थियो । त्यसपछि उनलाई लिखित माफी मगाएर भिडियो डिलिट गराइ छाडिएको थियो । तर उनलाई माफी मगाइएको घटनापछि स्थानीयहरुको आक्रोश अझ बढेको छ ।


यी त प्रकाशमा आएका घटनाहरु भए, इटहरीका गाउँ गाउँका बाटाहरु अहिले बिग्रेर बेहाल भएका छन् । स्थानीयहरुले उपमहानगरपालिकाले कर बढाएर लिएको तर विकास निर्माणका काम विगतभन्दा झन् घटाएको गुनासो गरेका छन् । कतिपय वडाध्यक्षले आफ्नो गुनासो सुनुवाई नै नगरेको नगरवासीहरुको आरोप छ ।


यस्तै यता वडाध्यक्षहरु भने नगरबाट पर्याप्त सहयोग नपाएको गुनासो गर्छन् । पटक पटक ताकेता गर्दा पनि उपमहानगरपालिकाको सवारी साधन र सडक पुर्न मिसगिटी नपाएको उनीहरुको गुनासो छ ।


यतिबेला उपमहानगरपालिका आफै भने बजेट ल्याउन नसकेर बजेट होलिडेमा गएको छ ।