इटहरी । इटहरीका मेयर हेमकर्ण पौडेलविरुद्ध अपशब्द बोलेको भन्दै इटहरी २ की तानिजा विष्टलाई माफि मगाएर छाडिएको छ ।
टिकटकमार्फत् भिडियो बनाउँदै उनले मेयर पौडेललाई फटाहा भनेकी थिइन् । पौडेलको सचिवालयको उजुरीपछि प्रहरी कार्यालय पुगेकी उनलाई माफि मगाएर र टिकटकको भिडियोसमेत डिलिट गराएर छाडिएको हो ।
आफ्नो घर जाने बाटो बनाइदिन पटक पटक आग्रह गर्दा पनि वास्ता नगरेको, बाटो बनाउने पैसा अन्यत्र खर्च गरेर आफूहरुलाई हिलो र पानीमा हिड्न बाध्य बनाएको भन्दै उनले पटक पटक रोष प्रकट गरेकी थिइन् । पछिल्लो भिडियोमा भने उनले "चौध अञ्चल सतहत्तर जिल्लामध्ये इटहरीका मेयर फटाहा हुन्" भनेकी थिइन् ।
मेयर पौडेलकै गाउँमा बस्ने विष्ट पहिले भने मेयर पौडेलको समर्थक थिइन् । उनले गाउँ गाउँ बाटो बनिरहेको भन्दै मेयर र जनप्रतिनिधिहरुको प्रसंसा गर्दै भिडियो बनाएकी थिइन् । यस्तै नगर बस खाली खाली नकुदेको, नगरको लगानी ठिक ठाउँमा रहेको भन्दै पक्षमा बोलेकी थिइन् ।
तर पछिल्ला भिडियोहरुमा भने उनले त्यही नगरबसको नाममा कालो धन्दा हुन थालेको, नगरको नेतृत्व जनताप्रति जवाफदेही नभएको भनेर गुनासो गर्न थालेकी थिइन् । पेशाले व्यवशायी विष्ट सामाजिक विषयवस्तुलाई उठाउने गरिरहन्छिन् ।