इटहरी । इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरीले उपमहानगरपालिकाको असक्षमताका कारण नगर डुब्न लागेको बताएका छन् । उनले नेतृत्व जिम्मेवार नबन्दा जनताहरुले दुःख पाएको र नगरपालिका धराशायी भएको बताएका हुन् ।
बुधबार इटहरीमा पत्रकार सम्मेलन गर्दै विकास योजनाहरु अलपत्र परेको, इटहरीको गौरव गुम्दै गएको, जनताको करको दुरुपयोग भइरहेको, र स्थानीय सरकार मौन रहेको आरोप लगाए ।
उनले इटहरीको ४२ किलोमिटर लामो बाहिरी चक्रपथ, टेङ्ग्रा डाइभर्सन नबनेको, इलाका प्रहरी कार्यालय स्थानान्तरण नभएको गुनासो गरे । यस्तै आफूले निर्माण सुरु गरेको २५ शैयाको इटहरी अस्पताल १०० शैयामा स्तरोन्नति नभएको र काम सुस्त भएकोमा पनि प्रश्न उठाए ।
चौधरीले गरिब तथा विपन्न समुदायका लागि सरकारी इन्जिनियरिङ र मेडिकल कलेजको स्थापनातर्फ पालिकाले चासो नदेखाएको, उपमहानगरपालिकाले अहिलेसम्म सार्वजनिक सुनुवाइ नगरेको, डिभिएम लगायत सार्वजनिक सम्पत्तिको संरक्षण र जनहितमा उपयोग गर्न नसकेको बताउँदै स्थानीय सरकारले मौनता साँधेको बताए ।
यसैगरी विगतको स्थानीय सरकारले अगाडि बढाएका जनता पार्क, बहुजातीय संग्रालय, वडा नं. १५ को मोटरेबल पुल लगायत दर्जनौं कालोपत्रे सडकजस्ता गौरवका योजनाहरू अलपत्र रहेको चौधरीले बताए ।
उनले स्थानीय सरकारले उपमहानगरलाई पार्टी कार्यकर्ता भर्ति केन्द्र बनाएको आरोप लगाए । यस्तै उनले उपमहानगरपालिका आर्थिक अनियमितता र चुहावटले गर्दा गन्हाएको टिप्पणी गरे । ‘मलाई चाहिँ गेटबाट छिर्ने बित्तिकै गन्हाउँछ, तपाइहरुलाई गन्हाउँदैन ?’ उनले भने ।
चौधरीले समयमा बजेट नल्याएर नगरवासीलाई धोका दिएको बताउँदै नगरलाई डुब्नबाट जोगाउनका लागि जस्तोसुकै कदम चाल्न पनि आफू पछि नसर्ने बताए । उनले आफूले अभियान थाल्ने वा कसैले पहल लिए आफूले सघाउनेसमेत बताए ।
यस्तै उनले पार्टीका अर्का नेता रामप्रसाद चौलागाईलाई गाली गरेको अडियो रेकर्डलाई भने साथीलाई गरेको गाली भनेर पन्छिए । ‘साथी साथीमा कहिलेकाहिँ गाली गलौज हुँदैन ? त्यसलाई रेकर्ड गरेर पार्टीलाई कारवाहीको लागि पठाइहाल्नु ?’ उनले सोधे ।
उनलाई पार्टीले कारवाही गर्न लागेको विषयमा सोधिएको प्रश्नको जवाफमा उनले आफूलाई पार्टीको अनुशासन आयोगले मात्र कारवाही गर्न सक्ने बताउँदै अहिलेसम्म पत्र नपठाएको जिकिर गरे । उनले पार्टी अध्यक्ष केपी ओलीले भेट्न बोलाएको भन्दै साँझ विराटनगर जाने बताए ।
हालैका केही अन्तर्वार्तामा पार्टीका स्थानीय नेताहरुप्रति आक्रामक रहेका चौधरी पत्रकार सम्मेलनमा भने त्यती आक्रामक देखिएनन् । उनले आफूलाई स्पष्टिकरण सोधिएको विषयलाई पनि पार्टीभित्र त्यस्तो स्वभाविक भएको बताए । यस्तै विद्या भण्डारीको पक्षमा लागेको हो ? भनेर पत्रकारले सोधेको जिज्ञासामा उनले खण्डन गरे । उनले पार्टीभित्र अन्तरविरोध हुनु स्वभाविक भएको बताउँदै पार्टी नेतृत्वले समाधान गर्ने विश्वास व्यक्त गरे । ‘मेरो लागि वहाँहरु सबै मेरो नेता हो,’ उनले भने ।