पार्टीमा अनुशासनको कारवाही तयारीका बिच पत्रकार सम्मेलन गर्दै पुर्वमेयर चौधरी

न्युजलय २८ साउन २०८२, मङ्गलबार १०:१० मा प्रकाशित

इटहरी । एमाले नेता रामप्रसाद चौलागाईलाई गालीगलौज गरेको विषयमा नेकपा एमाले कोसी प्रदेश कमिटीले अर्का नेता तथा इटहरीका पुर्वमेयर द्वारिकलाल चौधरीलाई कारवाहीको तयारी गरेको छ । 


दुई पटकसम्म पत्र काटेर स्पष्टीकरण सोध्दा पनि नबुझाएपछि आजदेखि सुरु हुने प्रदेश कमिटिको बैठकले कारवाही गर्न लागेको प्रदेश कमिटि स्रोतले जनाएको छ । दुवै नेताहरु प्रदेश कमिटिमा छन् ।


अघिल्लो वर्ष कात्तिक २७ गते साँझ विभिन्न समयमा सामाजिक सञ्जाल र भ्वाईस मार्फत अभद्र तथा अशिष्ट गालीगलौज गरेको रेकर्ड सहितको उजुरीपछि प्रदेश कमिटिले लिखित स्पष्टीकरण मागेको थियो ।


पार्टीको प्रदेश कमिटीले २०८१ मङ्सिर २० गते ७ दिनभित्रमा लिखित स्पष्टीकरण माग्दै स्पष्टीकरण सोधेको थियो । चौधरीले स्पष्टीकरण नदिएपछि २०८१ चैत्र ९ गते बसेको सचिवालय बैठकले उनलाई प्रदेश सदस्यको जिम्मेवारीबाट मुक्त गर्दै फेरी स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण नदिए अनुशासनको कारणही गर्ने चेतावनीसमेत पत्रमा दिइएको थियो ।


स्थानीय तह तथा संसदको चुनावमा टिकट नपाएपछि नेकपा एमाले छाडेर माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यको लागि चुनाव लडेका उनी रेवतीरमण भण्डारीसँग पराजित भएका थिए । त्यसको एक वर्षपछि पुनः एमालेमै फर्किएका थिए । तर एमालेमा केन्द्रिय सदस्य पाउने आकांक्षामा रहेका चौधरीलाई प्रदेश कमिटि सदस्य बनाइएको थियो । 


त्यसो त चौधरीले मेयर हुँदा नै पनि नेकपा एमालेका स्थानीय र केन्द्रिय नेताहरुको आलोचना गरेका थिए । त्यसैकारण एमाले महाधिवेशनमा उनले चाहेको केन्द्रिय सदस्य पाएनन् । 


धरानकी तात्कालिन उपमेयर मञ्जु भण्डारी, इटहरीकी तात्कालिन उपमेयर लक्ष्मी गौतम र तात्कालिन एमाले प्रदेश सदस्य अमृता सुब्बा केन्द्रिय सदस्य भइरहँदा मधेसी कोटाबाट दावेदारी दिएका तात्कालिन मेयर चौधरी भने केन्द्रिय सदस्य बनाइएनन् । त्यसपछि उनी एमालेप्रति झन् आक्रामक हुँदै आएका थिए । 


प्रदेश कमिटि सदस्य रहेका उनलाई भोक्राहा नर्सिङ गाउँपालिकाको इन्चार्जको जिम्मेवारी दिइएको थियो । उजुरी परेपछि उनको उक्त जिम्मेवारी पनि खोसिएको छ ।


कारवाहीको चर्चाबिच पुर्वमेयर चौधरीले २८ गते बुधबार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् । उनी चुनावपछि पहिलो पटक पत्रकारहरुमाझ आउन लागेका हुन् । त्यसो त चुनावको लामो समयसम्म सामाजिक सञ्जालमा समेत उपस्थिती देखाएनन् । एक वर्षपछि चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको फोटो पोस्ट गरेका थिए । 


उनले हालसालै मिडियाहरुमा अन्तर्वार्ता दिँदै इटहरीको विकास र राजनीतिबारे चिन्ता राखेका छन् । तर त्यसो गरिरहँदा मेयरप्रतिभन्दा पनि एमाले नेताहरुको भुमिकामा बढि आक्रमक देखिएका छन् । उनले नेकपा एमाले पुर्व नगर सभापती याम सुब्बा, अहिलेकी उपमेयर संगीताकुमारी चौधरीलाई विभिन्न आरोप लगाएका छन् । त्यसैले पत्रकार सम्मेलनमा उनी जनचासोका विषयसँगै नेकपा एमालेका स्थानीय नेताहरुप्रति आक्रमक हुने अनुमान छ ।