काठमाडौँ । काठमाडौँको सुकेधारामा मर्क्योर नामक पाँचतारे होटल सञ्चालनमा आएको छ । इटहरीका व्यवसायी देशबन्धु बस्नेतले तीन अर्ब रुपैयाँ बढीको लागतमा होटल सञ्चालनमा ल्याएका हुन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले होटल उद्घाटन गरेका छन् ।
पाँच रोपनी जमिनमा फैलिएको मर्क्योरमा पाँच किसिमका गरी एक सय चार वटा कोठा छन् । यहाँ एक रात बस्ने शुल्क १५ हजार रुपैयाँदेखि सुरु हुन्छ । पाँच थरीका रेस्टुरेन्ट र बार छन् । १२ तला अग्लो होटेलको छतमा स्विमिङ पुल र बार रहेको छ । जहाँबाट काठमाडौ उपत्यकाको दृश्य हेर्दै खान र पौडी खेल्न सकिन्छ ।
होटेलमा चार सय जनाभन्दा बढी मान्छे अटाउने बैंक्वेट हल छ । बैठक कोठाहरु, जिमखाना, स्टिमबाथ, साउना बाथ, वेलनेस सेन्टरहरु छन् । थप बैंक्वेट हल र क्यासिनो सञ्चालनमा ल्याउने तयारी छ ।
बस्नेत अध्यक्ष रहेको एबी होल्डिङले सञ्चालनमा ल्याएको होटललाई अन्तर्राष्ट्रिय कम्पनी एकोर ग्रुपले व्यवस्थापन गर्ने जिम्मा लिएको छ । द मेट्रोपोलिटन होटल प्रालिको व्यवस्थापनमा एकोर ग्रुप नेपालमा पहिलो पटक भित्रिएको बस्नेतले बताए । एबीकै लगानीमा इटहरीमा रमणा नामक पाँच तारे होटल बनिरहेको छ । यो होटललाई विश्वविख्यात होटल चेन कम्पनी विंडहामले व्यवस्थापन गर्नेछ । जुन आउँदो वैशाखसम्ममा सञ्चालनमा ल्याउने तयारी छ ।
कम्पनिले यसबाहेक देशका विभिन्न ठाउँमा कम्पनिले होटल, पार्क, रिसोर्ट, स्वास्थ्य तथा निर्माणका क्षेत्रमा पनि काम गरिरहेको छ ।
देशबन्धु बस्नेत उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य र महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापतिसमेत हुन् । यसअघि उनले महासंघको द्वि–राष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरमको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् भने उनले जाम्बियाका लागि नेपालका मानार्थ वाणिज्य दूत भएरसमेत काम गरेका छन् । उनले सिंगो अफ्रिका महादेशसँग नै राम्रो सम्बन्ध विस्तार गर्न पहल गरेका थिए ।
बस्नेत उद्योग वाणिज्य संघ इटहरीका संस्थापक अध्यक्ष चन्द्रबहादुर बस्नेतका छोरा हुन् । चन्द्रबहादुर बस्नेतले ४० वर्षअघि थालेको इँटा उद्योग जयश्री ईँटा उद्योगलाईसमेत देशबन्धुले निरन्तता दिएका छन् ।
काठमाडौमा बसाइ भएपनि इटहरी जन्मथलो भएको कारण इटहरीको विकास हुने गरी होटल सञ्चालनमा ल्याउन लागेका उनले अन्य थप लगानीका योजनाहरु अघि बढाएका छन् । उनले इटहरीको विकासको लागि यहाँको सामाजिक, आर्थिक क्षेत्रमासमेत आफू इटहरीलाई सहयोग गर्न तयार रहेको बताएका छन् ।
इटहरीमा निर्माणाधीन पाँच तारे होटल ग्रान्ड सेन्ट्रलले पायो डबल बी माईनस र एफोर रेटिङ