इटहरीमा निर्माणाधीन पाँच तारे होटल ग्रान्ड सेन्ट्रलले पायो डबल बी माईनस र एफोर रेटिङ

न्युजलय २७ जेठ २०८१, आइतबार ०१:५७ मा प्रकाशित

इटहरी । सुनसरीको इटहरीमा निर्माणाधिन फाइभ स्टार होटल ग्रान्ड सेन्ट्रलले ‘डबल बी माईनस’ र ‘ए४’ रेटिङ प्राप्त गरेको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालबाट कम्पनीले उक्त रेटिङ दिएको हो । यो होटललाई विश्वविख्यात होटल चेन कम्पनी विंडहामले 'रमणा' नामबाट सञ्चालन गर्दैछ ।


यो होटलको स्थान र निर्माण सक्रियता, विदेशी होटलबाट पाएको मान्यता र लगानीकर्ताको सफलताका आधारमा उक्त रेटिङ दिईएको रेटिङ प्रदायक कम्पनी इन्फोमेरिक्सले जानकारी दिएको छ । यस्तै कम्पनीका लगानीकर्ताहरुको अनुभव, पर्यटन र सेवा क्षेत्रलाई सरकारले दिएको प्राथमिकतालगायतलाई पनि आधार मानिएको छ । 


होटल रहेको स्थान पनि नेपाल भारत सीमाभन्दा ३० किलोमिटरकै दूरिमा रहेकाले यसले भारतीय पर्यटकहरुलाई लक्षित गरेको बताइएको छ । यसरी सेवाग्राहीलाई प्राथमिकतामा राखेर स्थान छनोट गरी होटल स्थापना भईरहेकाले पनि होटललाई उक्त रेटिङ दिईएको इन्फोमेरिक्सले जानकारी दिएको छ ।


१ अर्ब ७ करोडमा निर्माण भइरहेको होटल २०२५ को मध्यतिर सफ्ट लञ्च गरिसक्ने लक्ष्य लिएको छ भने पूर्ण रुपमा २०२६ को सुरुवातमै पूर्ण संचालनमा आईसक्ने बताईएको छ । 


नेपाल उद्योग वाणिज्य महासंघका पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु वस्नेत (अजित)को एकल लगानीमा संचालनमा आउन लागेको उक्त होटलले सो रेटिङ पाएसँगै डलब बी माईनसबाट दिर्घकालिनका लागि ८३ करोड रुपैयाँ बराबरको बैंक कर्जा सुविधा लिन सक्ने भएको छ । बस्नेत एबी इन्भेष्टमेन्ट होल्डिङ्सका अध्यक्ष समेत हुन् । उनको इन्भेष्टमेन्ट कम्पनीले सेवा तथा पर्यटन क्षेत्रका धेरैजसो परियोजनाहरुमा प्रत्यक्ष लगानी र परियोजनाहरु निर्माण गर्दै आईरहेको छ । 


होटलले यसअघि नै विन्डहाम होटल्स एण्ड रिसोर्टसँग इटहरीमा ‘रमाडा होटल बाई विंडहाम’ नामबाट सञ्चालनका लागि फ्रेन्चाइजी सम्झौतामा हस्ताक्षर गरिसकेको छ । उक्त सम्झौतापत्रमा ग्राण्ड सेन्ट्रल होटल प्रालिका अध्यक्ष वस्नेत र युरेसियाका मार्केटिङ प्रबन्ध निर्देशक निखिल शर्माले हस्ताक्षर गरेका थिए ।


विंडहाम होटल्स एण्ड रिसोर्टसँग ९५ देशमा ८ हजार ९ सय होटेलसहित २४ ब्रान्डहरूको पोर्टफोलियो छ । रमाडा ६०  देशमा ८५० भन्दा बढी होटल भएको विन्डहम होटल्स एण्ड रिसोर्टस् कम्पनीको मिडस्केल ब्रान्डमध्ये एक हो ।