नक्कली व्याकुल माइला : ‘कलाकार हुन् तर मानसिक समस्या छ’

न्युजलय ३१ साउन २०८२, शुक्रबार ०२:०१ मा प्रकाशित

सुनसरी । आफूलाई राष्ट्रिय गानका रचनाकार व्याकुल माइला भन्दै पुस्तक बेच्ने उदयपुरका मिलन राई अहिले प्रहरी हिरासतमा छन् ।


पुस्तक बेच्दै इटहरी आइपुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो । उनले पैसा कमाउने धन्दा बनाएको भन्दै उनको व्यापक आलोचना भइरहेको छ भने उनलाई कारवाहीको समेत माग गरिएको छ ।


तर मिलन राई पुराना कलाकार भएको र उनमा मानसिक समस्या त्यतीबेला देखिकै रहेको एक महिला कलाकारले उल्लेख गरेकी छिन् । 


धरानकी शशि थापा सुब्बाकाअनुसार मिलन राई निकै पहिलेदेखि नै नाटकहरुमा अभिनय गर्थे भने नृत्यसमेत गर्थे । 


एक समय आफूहरु स्टेजमा सँगै नाचेको र अभिनय गरेको बताउँदै उनले मिलन अनुभवी रंगकर्मी भएको बताएकी छिन् ।


तर त्यो समयदेखि नै उनी समय–समयमा अलि अलमलिने, कुरा गर्दै गर्दा एकोहोरो हुने, तथा व्यवहारमा असामान्यपन देखाउने उनले स्मरण गरेकी छिन् । उनले मिलनलाई गालीगलौज र कुटपिट भन्दा पनि उपचारको खाँचो रहेको बताउँदै उपचारको लागि सहयोग गर्न आग्रह गरेकी छिन् ।