विराटनगर । आफूलाई राष्ट्रगानका रचयिता व्याकुल माइला भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार इटहरी उपमहानगरपालिकामा बिक्री गरेको पुस्तकको भुक्तानी लिन आएका बेला उनलाई पक्राउ गरिएको हो ।
व्याकुल माइलाका नाममा किताब लेखेर बेच्दै हिँडेका उदयपुरको बेल्टार निवासी मिलन राईलाई प्रहरीले पक्राउ गरेको हो । उनले किताबमा मिलन राई पछाडी व्याकुल माइला लेख्ने गरेका छन् । राष्ट्रगानका वास्तविक सर्जक प्रदीपकुमार राई ‘व्याकुल माइला’ ले पनि यसविषयमा आफूले जानकारी पाएको बताउँदै ठगी रोक्न आग्रह गरेका छन् ।
उनलाई इटहरी उपमहानगरपालिका परिसरबाट पक्राउ गरी मुद्दा चलाउने तयारी भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
राईले आफू राष्ट्रगानको सक्कली सर्जक भएको दाबी गर्दै राष्ट्रपति कार्यालयमा समेत उजुरी हालेका थिए । करिब सात महिनाअघि उनले सभामुख देवराज घिमिरेलाई भेटेर राज्यले ‘व्याकुल माइला’ लाई दिँदै आएको मासिक भत्ता आफूले पाउनुपर्ने मागसहित निवेदन दिएका थिए ।