नौ महिनापछि बालकोटबाट सामाजिक सञ्जालमा पुर्वमेयर चौधरीको कमब्याक

न्युजलय ३ असोज २०८०, बुधबार ०९:४१ मा प्रकाशित

इटहरी । इटहरीको मेयर भएका बेलामा निकै चर्चा कमाएका द्वारिकलाल चौधरी झण्डै एक वर्षपछि सामाजिक सञ्जालमा देखिएका छन् ।

गत वर्षको पुसमा आफ्नो फेसबुकमा प्रोफाइल फोटो परिवर्तन गरेपछि गायब भएका चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको तस्वीर सार्वजनिक गरेका हुन् । 

ओली निवास बालकोटमा खिँचिएको तस्वीरको क्याप्सनमा उनले लेखेका छन्, ‘श्रद्धेय कमरेड सङ्ग फेरि’

लामो समयको अन्तरालपछि सामाजिक सञ्जालमा उनको कमब्याक, त्यो पनि एमाले अध्यक्ष ओलीसँगको तस्वीरबाट हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

एमालेको तर्फबाट मेयर निर्वाचित चौधरीको कार्यकाल निकै विवादहरुले घेरिएको थियो । इमान्दार नेताको छवी बनाएका चौधरी आफ्नो गतिविधि र वक्तव्यका कारण भने बारम्बार विवादमा आएका थिए । उनी स्थानीय तहको निर्वाचनमा फेरी पनि मेयर दोहोर्याउन चाहन्थे । त्यो नभए संघ वा प्रदेशको निर्वाचनको टिकट पाउने आशा गरेका थिए । 

तर एमालेले उनलाई टिकट नदिएपछि उनी माओवादी प्रवेश गरी प्रदेश सांसदको चुनाव लडे । नेकपा एमालेको पुर्व जिल्ला अध्यक्ष समेत रहेका चौधरी रेवती भण्डारीसँग जिल्ला अध्यक्ष र प्रदेश सभा सदस्य दुवैमा भीडेका थिए भने दुवै चुनावमा चौधरी भण्डारीसँग पराजित बनेका थिए । 

त्यसयता उनी माओवादीको कार्यक्रममा खासै देखिएनन् । माओवादीको कार्यक्रममा मात्र होइन, कुनै पनि सार्वजनिक कार्यक्रम र मिडियामा उनी देखिएका थिएनन् । सामाजिक सञ्जालमा अभिव्यक्तिहरु दिइरहने उनको सामाजिक सञ्जाल सक्रियतासमेत शुन्य बनेको थियो ।

नौ महिनापछि एकैपटक बालकोटको तस्वीर शेयर गर्दै सामाजिक सञ्जालमा चौधरी झुल्किएपछि एमालेका स्थानीय नेता कार्यकर्ताहरु तरंगीत भएका छन् ।

एमालेमै फर्किँदै पुर्वमेयर चौधरी

ओलीको रोजाइमा भण्डारी, गौतम र सुब्बा, इटहरीका मेयर चौधरी परेनन्

‘एक दुई वटा खसी खुवाएर गाउँ पिच हुन्छ भने खाउन्’; मेयर चौधरी

‘अब काँग्रेसले कहिल्यै जित्ने छैन, जनता कहिल्यै हार्ने छैनन्’ : मेयर चौधरी