इटहरी । नेकपा एमालेका तर्फबाट इटहरी १७ का वडाध्यक्ष प्रभात आचार्यले पुर्वमेयर तथा माओवादी केन्द्रिय सदस्य द्वारिकलाल चौधरी एमालेमा फर्किएको भनेर शनिबार बेलुका फेसबुकमा तस्वीरसहित पोष्ट गरे ।
एमालेबाट २०७४ सालको निर्वाचनमा इटहरीको मेयर बनेका चौधरी गत प्रदेश निर्वाचनको समयमा माओवादी प्रवेश गरी प्रदेश सांसदको टिकट पाएका थिए । जसमा उनी एमालेका रेवतीरमण भण्डारीसँग पराजित भएका थिए ।
त्यसो त एमाले जिल्ला अध्यक्षसमेत रहेका भण्डारीलगायत एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतम तथा नगर अध्यक्ष याम सुब्बालगायत नेताहरुसँग उनको सम्बन्ध राम्रो थिएन । सामाजिक सञ्जालमै आरोप प्रत्यारोपमा उत्रिएका थिए ।
माओवादी प्रवेश गरेसँगै उनले केन्द्रिय सदस्यको हैसियत पाए भने प्रदेश सांसदको टिकट पनि पाएका थिए । तर कांग्रेससहितको गठबन्धनको समर्थनमा उम्मेदवार बनेका उनी पराजित भएका थिए ।
उनी फेरी एमाले फर्किने हल्लाले रातारात एमाले र नेकपा माओवादी नेता कार्यकर्ताबिच चर्चा पाएको छ । सामाजिक सञ्जालमा समेत उनको पक्ष र विपक्षमा मत विभाजित भएको छ । कतिपयले स्वागत गरे भने कतिपयले अवसरवादी भनेर गाली वर्षाएका छन् ।
फेसबुकमा स्टाटस लेखिरहने उनले यसविषयमा आधिकारीक रुपमा केही लेखेका छैनन् । तर आचार्यकाअनुसार चौधरीले आफू पहिले पनि एमाले नै रहेको र अहिले पनि एमाले नै रहेको बताएका छन् । ‘सोध्दा वहाँले एमाले मेरो घर हो, एमालेमै फर्किन्छु भन्नुभयो,’ उनले भने, ‘एमालेका पुर्व नेता एमालेमै फर्किनु त राम्रो हो भनेर मैले फेसबुक पोस्ट गरेँ ।’
यता एमाले नेताहरुले भने सो विषयमा थाहा नभएको बताएका छन् । एमाले केन्द्रिय सदस्य लक्ष्मी गौतम र नगर अध्यक्ष याम सुब्बाले कुरा भएको चाहिँ थाहा पाएको, तर फर्के, नफर्केको थाहा नभएको प्रतिक्रिया दिएका छन् ।