२०७८ साल माघ ६ गते बिहिबार

‘एक दुई वटा खसी खुवाएर गाउँ पिच हुन्छ भने खाउन्’; मेयर चौधरी

शंकर खत्री ३० पुस २०७८, शुक्रबार ११:४४ मा प्रकाशित

इटहरी । केहि समय अघि नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र एसबाटै प्रदेश १ को मुख्यमन्त्री बनेका राजेन्द्रकुमार राईलाई घरमा भोज खुवाएर इटहरीका मेयर चर्चामा थिए । 

त्यहि समय उनको पार्टी नेकपा एमालेमा मात्रै होइन आम जनमानसमा पनि उनि एसमा जना लागेका हुन् कि भनेर खैलाबैला चलेको थियो । त्यसपछि पनि पटक पटक इटहरीमा हुने साना–ठूला कार्यक्रममा उनि नेपाललाई डाकिरहन्छन् । 

नेपाल पनि अन्यत्रका कार्यक्रम छोडेरै भए पनि इटहरी आइपुग्छन् । नेपालको इटहरी उपस्थिति बाक्लिएसँगै मेयर एसमा जानलागेका होलन् भन्ने धेरैले संका गर्दै आएका छन् । तर मेयर चौधरीले शुक्रबार एक कार्यक्रममा बोल्दै आफूले नगरको विकासको काममा सहयोग हुन्छ भनेर सरकारको नजिक भएकालाई भोज खुवाएको र कार्यक्रममा डाकेको बताएका छन् । 

‘अहिले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल म कहाँ आएको कुरा पनि खुबै चर्चामा छ । म सम्बद्ध दल त एमाले छ । भात खान चाहिँ गठबन्धनको आउँछ, मेयरले त खुबै बोलाइ बोलाइ खुवाउँछ भनेर खुबै चर्चा छ,' उनले भने, 'खाउन् न । एक/दुई वटा खसी खाएर के भयो ? ५/१० करोड आयो भने त गाउँ पिचैपिच हुन्छ ।'

स्थानीय तहको जनप्रतिनिधि भएकाले नगरको विकासको स्वार्थको लागि सबैसँग सम्बन्ध राख्नुपर्ने मेयर चौधरीको धारणा छ । 

‘स्थानीय तहमा हुनेले सबैसँग सम्बन्ध राख्नुपर्ने जरुरी छ’, उनले भने, ‘प्रदेश सरकार एउटाको छ, संघिय सरकार अर्कोको छ यहाँ हामी अर्कैको सरकार छ । उहाँहरु प्रदेश सरकारको प्रमुख भएको नाताले आतिथ्य सत्कार दिने हाम्रो पदिय जिम्मेवारी पनि हो ।'

उनले इटहरीको विकास र समृद्धि आफ्नो स्वार्थ भएको भन्दै यसमा राजनैतिक आस्था नजोडिएको स्पष्ट पारेका छन् ।