इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले इटहरीमा नेपाली काँग्रेसले कहिल्यै नजित्ने दावी गरेका छन् ।
नेकपा (एमाले) इटहरीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले गठबन्धन र काँग्रेसले इटहरीमा जित्न नसक्ने दावी गरेका हुन् । ‘अब नेपाली काँग्रेसले कहिल्यै जित्ने छैन । गठबन्धनले कहिल्यै जित्ने छैन । र, नेपाली जनता कहिल्यै हार्ने छैनन्’, मेयर चौधरीले भने ।
इटहरीमा गाउँपञ्चायतदेखि हाल उपमहानगर हुँदासम्म जित्दै आएको स्मरण गराउँदै उहाँले एमालेलाई कसैले हराउन नसक्ने दावी गरेका छन् ।
पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहेको कार्यक्रममा बोल्दै उनले इटहरीमा एमालेले सधै जितिरहने दावी गरे ।
‘नेकपा (एमाले) संधै जितिरहने छ, र नेपाली जनता संधै जितिरहने छन्’, मेयर चौधरीले भने । अहिलेको गठबन्धन एमालेलाई स्थानीय तहमा एमालेलाई जित्नबाट रोक्नलाई मात्रै बनेको उनको भनाइ छ । त्यसपछि गठबन्धनको भविष्य धरापमा पर्ने उनको जिकिर छ ।
यसरी आफू अल्पमतमा पर्ने देखेपछि गठबन्धन अर्नगल प्रचारमा लागेको मेयर चौधरीको आरोप छ । काँग्रेसले पाँच पटक सम्म नेपालको सरकार चलाए पनि जनअपेक्षीक काम गर्न नसकेको उनको आरोप छ ।
जसरी जसरी नेकपा एमालेको पक्षमा जनलहर बढीरहेको छ हाम्रो विपक्षि गठबन्धनहरु, गठबन्धनका उमेदवारहरु लरबराउन थालेका छन् । र नेकपा एमालेमाथि अर्नगल दुसप्रचार गरिरहेका छन्’, उनले भने , ‘यहि इटहरीमा गठबन्धनका मेयरका उमेदवार भन्नुहुन्छ, एमाले पटक–पटक जितिरहयो तर इटहरीवासी, इटहरी हारिरहयो ।
म उहाँलाई जवाफ दिन चाहन्छु, अहिले संघिय सरकारको प्रधानमन्त्री नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा हुनुहुन्छ । उहाँ पाँच पटक प्रधानमन्त्री हुनुभयो । नेपाली काँग्रेसले पटक पटक जितिरहयो तर नेपाली जनता हारिरहे ।’