इटहरी । एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी महाधिवेशनअन्तर्गत आइतबार मध्यरात ३०१ केन्द्रीय सदस्यको नाम ध्वनी मतबाट पारित गराए ।
सर्वसम्मतका लागि पेश गरेको त्यो नामावलीलाई बन्दसत्रले कुनै संशोधन बिना नै ध्वनि मतले स्वीकार गरेको थियो । नाममा महाधिवेशन प्रतिनिधिले ताली बजाएका थिए।
कूल ३०१ मा पुरुष २०० र महिला १०१ जना परेका छन् । यद्यपि केन्द्रीय सदस्यमा निर्वाचित हुनका लागि निर्वाचनको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । तर पनि ओलीले छलफल गरी बनाएको सुचीमा परेकाहरु चुनावबाट बाहिरिने सम्भावना कमै छ ।
उक्त केन्द्रिय सदस्यको सुचीमा सुनसरीबाट पहिलो पटक तीन जना परेका छन् । जसमा धरानकी उपमेयर मञ्जु भण्डारी प्रदेश १ महिलाबाट, महिला खुलाबाट इटहरीकी उपमेयर लक्ष्मी गौतम र प्रदेश सदस्य तथा महिला बचत इटहरीकी अध्यक्ष अमृता सुब्बा महिला जनजातितर्फबाट परेका छन् ।
मधेसी कोटाबाट केन्द्रिय सदस्यका लागि दावेदारी दिएका इटहरीका मेयर द्वारिकलाल चौधरी भने उक्त सुचीमा अटाएका छैनन् ।