इटहरी । विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै कस्तुरी कलेज इटहरीले २६ औं वार्षिकोत्सव मनाएको छ ।
कलेज व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षता तथा पूर्वाञ्चल विश्वविद्यालय मोरङका रजिट्रार निलमणी पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सम्मान तथा पुरस्कार वितरण गरेको हो ।
कलेजमा अध्ययन गरेर विभिन्न उच्च ओहोदामा रहेका पुर्व विद्यार्थीहरू केशव खनाल, ओशन दाहाल, शर्मिला पोखरेल, सुजनबाबु बस्नेत, सविना श्रेष्ठ, सुजन लामा, र नजाउद्दीन मियाँलाई सम्मान गरिएको थियो ।
त्यसैगरी इटहरी क्षेत्रमा रहेर पत्रकारिताको माध्यमबाट योगदान गरेकोमा सप्तकोशी एफएमका प्रधान सम्पादक लिलाराज भट्टराई, नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष अर्जनु सुवेदी र नेपाल टेलिभिजन इटहरीकी समाचार प्रस्तोता भूमिका पाख्रिनलाई सम्मान गरेको थियो ।
त्यसबाहेक विभिन्न खेलकुद प्रतियोगीता तथा परीक्षामा उत्कृष्ट नतिजा ल्याउने, नियमित कलेज आउने एक सय वढी विद्यार्थीहरूलाई पुरस्कृतसमेत गरेको थियो ।
कलेजका प्राचार्य कमलेश शर्मा पौडेलले कलेजको दीर्घकालिन उद्देश्य र विद्यार्थीहरुको भविष्य निर्माणमा सबै पक्षको सहयोग हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा एकल गायन र नृत्य प्रतियोगितासमेत गरिएको थियो । सोनु जयन्ती र मणि गुरुङले निर्णायकको भुमिका निर्वाह गरेका थिए । एकेडेमीका प्रिन्सिपल भुपेन्द्र न्यौपानेले कक्षा ११ देखि स्नातकोत्तर तहसम्म गरी १४ सय विद्यार्थीहरु अध्यनरत रहेको जानकारी दिएका थिए ।
कार्यक्रममा विद्यालयका अध्यक्ष प्रेमप्रसाद न्यौपाने, नागरिक समाज इटहरीका अध्यक्ष आरके राईलगायतको सहभागिता रहेको थियो ।