विराटनगर । पाथीभरा क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञा जारी भएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर सभा, जुलुस, प्रदर्शन गर्न रोक लगाइएको छ ।
नो केबलकार पक्षको पदयात्राका क्रममा शनिबार साँझ फुङलिङ बजारको वीरेन्द्र चोकमा प्रहरीसँग झडप भएको थियो । यसअघि पनि पटक पटक झडप भएपनि शनिबार साँझको झडप भने फरक खालको थियो । झडपका क्रममा आन्दोलनकारीहरुले सर्वसाधारणको घरघरमा बलिरहेको राँको फ्याँकेपछि स्थानीय प्रशासन सशंकीत बनेको थियो ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार प्रदर्शन र जुलुसका कारण स्थानीय स्तरमा प्रतिकूल स्थिति सिर्जना भई शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थिति देखिएपछि निषेधाज्ञा जारी गरेको हो ।
झडपमा प्रहरीको आक्रमणबाट दर्जन बढी घाइते भएका छन् । घाइते मध्ये गम्भीर ३ जनालाई धरान ल्याइँदै गरेको बताइएको छ ।
प्रहरीले कम्तीमा पनि २० जना आन्दोलनकारीलाई पक्राउ गरेको छ । आन्दोलनकारीहरूलाई प्रहरीले सुतेको ठाउँमा गएर पक्राउ गरिएको आन्दोलनरत पक्षले आरोप लगाएको छ ।