इटहरी । इटहरीका अग्रज पत्रकार वीपी दियालीले आफ्नो मृगौला प्रत्यारोपणका क्रममा भएको आम्दानी र खर्चको विवरण सार्वजनिक गरेका छन् ।
उनले उपचारको लागि सहयोग गर्नेहरुको नामहरुसहित विवरण सार्वजनिक गरेका हुन् । उपचारको लागि डा. खगेन्द्र ओलीको संयोजकत्वमा पिबि दियाली बचाउ अभियानसमेत सञ्चालन गरिएको थियो । आफ्नो उपचारको लागि देश विदेशबाट व्यक्ति तथा संस्थाहरुबाट गरी २४ लाख ६ हजार ४ सय ९८ रुपैया रुपैया संकलन भएको उनले जानकारी दिए । उनलाई उनकै दाईले मृगौला दिएका थिए ।
मृगौला दिने र लिने दुवैको उपचारको लागि गरेर ६० लाख रुपैया खर्च भएको जानकारी दिए । त्यसमध्ये सरकारले चार लाख रुपैया छुट गरिदिएको थियो । उपचारको लागि आफ्नो सम्पत्तीहरु बेच्नुपरेको उनले बताए ।
उनले सहयोगी दाताहरुले कबोल गरेको केही सहयोग जुट्ने क्रममा रहेको जानकारी दिँदै सो रकमबाट अक्षयकोष स्थापना गर्न लागेको जानकारी दिए । उनले आफूजस्तै मृगौलाका बिरामीहरुको उपचारको लागि तत्काललाई ५० हजार रुपैया राखेर अक्षयकोष निर्माण गर्ने जानकारी दिए ।