सुनसरी । कोशी प्रदेशको थप एक जिल्लामा लम्पी स्किन रोगको महामारी फैलिएको छ । कोशी प्रदेशको ओखलढुंगामा पनि ७ वटा गाईगोरुमा लम्पी स्किन रोगको संक्रमण भेटिएपछि महामारी फैलिएको जिल्लाको संख्या १३ पुगेको हो ।
पछिल्लो तथ्यांक अनुसार कोशी प्रदेशमा २८ हजार २ सय ५९ वटा गाईगोरु र राँगा भैंसीमा लम्पी स्किन रोग पाइएकोमा ९ सय ८९ वटा पशुचौपाया मरेको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ ।
लम्पी स्किन रोग विरुद्धको खोप लगाएका पशुचौपायाहरूमा यो रोगको प्रभाव कम देखिएको र मुख्यरुपमा लम्पी स्किन रोग लागेका बाछाबाच्छी र पाडापाडीहरु बढी मरेको पशु चिकित्सकहरुले बताएका छन् ।
लम्पी स्किन रोगको संक्रमण फैलिनबाट जोगाउन गोठहरु सरसफाइ गर्ने तथा पशु प्राविधिकहरूको सल्लाह मान्न कृषकलाई पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले आग्रह गरेको छ ।