इटहरी । प्रहरीको हिरासतमा रहेकालाई छुटाइदिने भन्दै रकम असुली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इनरुवा नगरपालिका –६ घर बताउने २२ वर्षीय आकाश भन्ने विनोद दाहाल रहेका छन् ।
लागूऔषध मुद्धाको अनुसन्धानको सिलसिलामा म्याद थप भइ इलाका प्रहरी कार्यालय पकलीको हिरासतमा रहेका प्रतिवादी हेमन विश्वकर्मालाई हिरासतबाट मुक्त गरीदिने र आफूलाई प्रहरी निरीक्षक भन्दै रकम असुली गरेको आरोपमा उनलाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
प्रतिवादी हेमनकी आमा लीला विश्वकर्माबाट पटकपटक गरी २५ हजार रकम लिएको र थप १५ हजार भएमा छुटाइदिने भन्दै ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
पीडितले प्रहरीमा उजुरी दिएपछि दाहाललाई रामधुनी नगरपालिका –५ स्थित लगौना मोडबाट रकम लिदैँ गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रकमसहित पक्राउ परेका उनको साथबाट १५ हजार र दाहालले प्रयोग गर्ने मोबाइल एक थान बरामद गरी पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीविरूद्ध प्रहरीले जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी ठगी कसुरमा अनुसन्धान गरिरहेको सुनसरी प्रहरीले जनाएको छ ।