काठमाडौं । सोलुखुम्बु जिल्लाका सेवाग्राहीहरूले अप्टिकल फाइबर लिङ्कमार्फत पश्चात दिगो र निरन्तर दूरसञ्चार सेवा प्रयोग गर्न पाउने भएका छन् ।
नेपाल टेलिकमले हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलो पटक अप्टिकल फाइबर लिङ्कबाट जोडेपछि सेवाको गुणस्तरमा थप वृद्धि हुने भएको हो ।
समुद्री सतहबाट तीन हजार मिटर उचाइमा रहेको सोलुखुम्बु जिल्लाको पत्ताले रिपिटर स्टेसनलाई बिहीबार १० जीबीपीएस क्षमताको फाइबर लिङ्कबाट जोडिएको हो ।
पत्ताले रिपिटरलाई फाइबरबाट लिङ्क गरिसकेपछि सगरमाथा आधार शिविर, खुम्जुङ, नाम्चे, लुक्ला, सल्लेरी, फाप्लु लगायत उच्च हिमाली क्षेत्र र सोलुखुम्बु जिल्लाको सम्पूर्ण टेलिफोन, इन्टरनेट तथा फोरजी सेवाहरूको गुणस्तर अभिवृद्धि हुने कम्पनीले जनाएको छ ।
यसका साथै यो लिङ्कबाट ओखलढुंगा तथा खोटाङ जिल्लाका टावरहरूको मोबाइल ट्राफिक आदान प्रदान गर्न पनि सहज हुनेछ ।