हात्तीको आक्रमणबाट घाइते महिलाको मृत्यु

न्युजलय ३१ साउन २०८२, शुक्रबार ०३:१५ मा प्रकाशित

दमक । जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएकी झापाको दमक नगरपालिका–१ कि महिलाको मृत्यु भएको छ ।

दमक–१ को बरगाछीस्थित सडकमा बिहान ‘मर्निङ वाक’मा जाँदै गर्दा जङ्गली हात्तीको आक्रमणमा परी यही साउन ११ गते घाइते भएकी ४६ वर्षीया सुनिता राईको उपचारका क्रममा आज बिहान विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो ।

सुनितासँगै उनकी बहिनी कविता राईलाई हात्तीले आक्रमण गरी घाइते बनाएको थियो ।

प्रहरी कार्यालय दमकका अनुसार हात्तीको आक्रमणबाट घाइते दुवैलाई दमक अस्पतालमा उपचारपछि विराटनगर पठाइएको थियो । घाइते कविताको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।