धरान । सुनसरीको धरानस्थित रंगशालामा पुस २५ गतेबाट सुरु भएको धरान एक्स्पो २०८१ माघ ८ गते सकिएको छ । एक्स्पोलाई कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले समापन गरेका हुन् ।
प्रमुख अतिथी मन्त्री भण्डारीले स्थानीय सरकारलाई प्रष्ट नीति निर्माण गरेर सहकार्यमा अघि बढ्न सुझाव दिएका छन् । उनले स्थानीय सरकार भएर आफ्नो ठाउँको स्पष्ट नीति के हो, छुट्याएर अघि बढ्न सुझाव दिएका हुन् । उनले कोशी प्रदेश सरकारले धरानको खानेपानी समस्यालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
एक्स्पो मूल आयोजक समितिका संयोजक गोपाल श्रेष्ठले एक्सपो स्थानीय उत्सवका रूपमा स्थापित भएको बताउँदै एक्स्पोले आर्थिक संकटको सामना गरिरहेका व्यवसायीहरूलाई राहत दिने काम गरेको दावी गरे ।
सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले एक्स्पोले रैथाने उत्पादनको प्रवर्द्धन र स्थानीय व्यापारलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेलेको धारणा राखे ।
यस पटकको एक्स्पोमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको थियो । उत्पादनहरूको प्रदर्शनीले राष्ट्रिय स्तरमै धरानको पहिचान बनाउन मद्दत गरेको आयोजकको दाबी छ । आयोजक सुनसरी उद्योग वाणिज्य संघका अनुसार एक्स्पोलाई करिब ३ लाख दर्शकले अवलोकन गरेका थिए, भने ५ करोड रुपैयाँको कारोबार भएको दाबी छ ।