काठमाडौं । उत्तर पूर्वी चीनमा एक सय १६ वर्ष यताकै धेरै हिमपात भएको छ । केही ठाउँमा अहिलेसम्मकै रेकर्ड तोड्ने गरी भएको भारी हिमपातका कारण बिजुली, सडक यातायात, हवाई यातायातलगायतका सेवा ठप्प भएका चीनको सरकारी समाचार संस्था सिन्ह्वालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
लिओनिङ प्रान्तको राजधानी शेनयाङमा २० इन्चसम्म हिउँ परेको खबरमा उल्लेख छ । मङ्गोलियाको सहर टोङलियाओका मौसमविद्ले हिमपात निकै अनियमित र अचानक भइरहेकाले अनुमान गर्न पनि गाह्रो भइरहेको बताएका छन् ।
हिमपातका कारण मङ्गोलियामा एक जनाको ज्यान गएको र पाँच हजार भन्दा धेरै नागरिक प्रभावित भएको बताइएको छ ।
यस्तै २७ ठाउँमा हिम तुफानको चेतावनी जारी गरिएको छ । सडक र रेल यातायात बन्द हुँदा कोइलाको आपूर्तिमार्फत घरहरू न्यानो बनाउने योजना पनि प्रभावित भएको खबरमा उल्लेख छ ।