नमुना कलेजको इनोभेसन डे : ड्रोनले फूल झार्यो, रोबोटले उद्घाटन गर्यो

न्युजलय ३१ माघ २०८१, बिहिबार ०८:३७ मा प्रकाशित

इटहरी । इटहरीस्थित नमुना कलेजले आयोजना गरेको बिग इनोभेसन डे मा विद्यार्थीले देखाएका सृजनशील वैज्ञानिक प्रयोगहरुले विद्यार्थीलाई मात्र होइन, तिनका अविभावकहरुलाई पनि राम्रैसँग आकर्षित गर्यो। विज्ञान, प्रविधि, कला, संस्कृतिदेखि सामाजिक विषयसम्मका विविध प्रयोगात्मक सामग्रीहरुमा बालबालिकाहरुका साथै अविभावकहरु झुम्मिए ।


कार्यक्रमको सुरुवातमै विद्यार्थीहरुले प्रमुख अतिथी तथा अभिभावकहरूलाई आफैले बनाएको ड्रोनबाट पुष्पवृष्टि गर्दै स्वागत गरेका थिए । त्यसपछि विद्यार्थीले रोबोटबाट प्रमुख अतिथी कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्ग र कानुनमन्त्री रेवतीरमण भण्डारीले संयुक्त रुपमा रिबन काटेर कार्यक्रमको उद्घाटन गरेका थिए । 


विद्यार्थीहरूले स्मार्ट इटहरीको परिकल्पना प्रस्तुत गरेका थिए । त्यसबाहेक करिब १०० वटा स्टलहरूमा विज्ञानका विभिन्न आविष्कार र प्रयोगहरुलाई प्रस्तुत गरेका थिए । 


उद्घाटन पछि बोल्दै प्रमुख खापुङ्गले विद्यार्थीहरूद्वारा निर्मित सामग्रीहरूले उनीहरूको सिर्जनशीलतालाई मात्र नभई शिक्षालाई थप प्रभावकारी बनाउन मद्दत गर्ने बताए। कानुनमन्त्री भण्डारीले यस्ता प्रदर्शनीहरूले शैक्षिक प्रणालीमा नवीनता ल्याउने र विद्यार्थीको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।


कलेजले विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिएका आफ्ना पूर्व विद्यार्थीहरूलाई सम्मानसमेत गरेको थियो । कलेजले पत्रकारहरु सुरेशचन्द्र दाहाल, विकल रेग्मी लगायतलाई सम्मान गरेको थियो । 


नमुना कलेजका प्रमुख धर्म न्यौपानेले विद्यार्थीहरूको रुचि र सिर्जनात्मक क्षमतालाई अझ प्रोत्साहन गर्न यस्ता कार्यक्रमलाई निरे(ृे्न्तरता दिने प्रतिबद्धता व्यक्त गरे। 


नमुना कलेजले प्लस टु देखि स्नातक र स्नातकोत्तर तहसम्मका कार्यक्रम सञ्चालन गर्दै आएको छ । शिक्षाको गुणस्तरका हिसाबले कोशी प्रदेशकै एक उत्कृष्ट संस्था मानिन्छ ।