पूर्वबाट पहिला १२ घन्टामा काठमाडौ पुगिने बाटोबाट आजकल १८ घण्टा लाग्न थालेको छ । ८ घन्टा लाग्ने बाटोबाट १२ घन्टा लाग्न थालेको छ । झट्ट लाग्न सक्छ, सडक तन्किएको हो ? होइन । हाम्रो दूरदर्शिता खुम्चिएको हो ।
कुनै जिल्लाको या प्रदेशको सदरमुकामसम्म पुग्ने कुरा होइन, बाँकी प्रदेशको राजधानीसम्मको पहुँचमै हाम्रो निरीहता हो यो । यसले हाम्रा विकासका अवधारणा, योजना, भाषण र प्रगतीका सबै मानक, बिम्ब र सपनाहरुलाई हाम्रै अघि धुजा पारेको छ । समय पनि उल्टो दिशामा हिड्छ ? दुरी झन् लम्बिने पनि हुन्छ ?
समय सँगसँगै सडक सञ्जाल झन् राम्रो र व्यवस्थित हुनपर्ने हो । यातायात झन् छिटो र सुविधाजनक हुनुपर्ने । हामीकहाँ ठिक उल्टो कसरी भयो ? गाडी बसहरू राम्रा आए, सवारी साधनहरुमा सुविधासम्पन्न विद्युतीय सवारी साधनको व्यापकता छ । तर बाटो बिग्रँदै गए । न त बिग्रन नदिन कुनै पुर्व तयारी देखियो, न त बिग्रिसकेपछि तुरुन्त मर्मत गर्ने तत्परता नै । प्रक्रिया, बजेट आदि जटिलता र झन्झटहरुले मन्त्रालयमा फाइल घुमेको घुम्यै हुन्छ । यता सवारी साधन पनि घुमेका घुम्यै हुन्छन् – धेरै समय खर्चेर वैकल्पिक मार्गमा ।
ठेकेदारको मनोमानी त अर्को कुरा भइहाल्यो ।
पुर्वबाट राजधानी छिटो पुर्याउने सुविधाजनक र सुन्दर विपी राजमार्गलाई हामीले रोशी खोलासँग जोगाउन सकेनौं । नागढुङ्गाको जाम र केही पहिरोलाई सिँगो देशले अहिलेसम्म जित्न सकेन । जसको असरस्वरुप बुवाआमाहरुको पालादेखिको सास्ती छोरा नातीहरुले पनि भोग्नुपरिरहेको छ ।
भन्न त हामीले सुरुङ युगमा प्रवेश गर्यौ भनेका छौं । तर पुराना सडक अनि राजमार्गहरुलाई दुरुस्त राखिरहन सकेका छैनौं । सुरुङ बनिसक्दा नसक्दै त्यहाँसम्म पुग्ने बाटो र पहाडहरू बगिसक्ने हुन् कि भन्ने डर छ । हामीकहाँ हुने विकासको गुणस्तर सवाल हो यो । अनि प्रकोपलाई पुर्वानुमान गर्ने, त्यससँग बच्ने वा जुध्ने रणनीतिमा देखिएको कमजोरीको सवाल पनि हो ।
खासमा हाम्रो यो नियति सडककै कारण उत्पन्न भएको हो । कमजोर पहाडहरुलाई झन् कमजोर बनाउँदै सडकका धर्सा कोरिए । गाउँ गाउँ डोजर कुद्यो । पछि पछि लागेर दुई चार दिन सवारी साधन पनि कुदे । तर सडकमा गाडी कुद्नु अघि पहाडै पहिरोसँगै कुद्न थाल्यो, तल तल । अनि त्यसले खहरेलाई शक्तिशाली बनायो र तल्लो भेगमा वितण्डा मच्चायो ।
हामीले सडक बनाएर पहाडमा बस्ने मानिसहरूको कष्ट घटाउन खोज्यौ । तर हामीले पहाडको पीडा बुझ्न सकेनौं । पहाडले म कमजोर छु भनिरह्यो, हामीले चिथोरिरह्यौ र झन् कमजोर बनाइरह्यौं ।
पहाडमा यातायातका अन्य विकल्प हुन सक्थे । तर हामीले सडक मात्र देख्यौ, बुझ्यौ । अरु विकल्प सोचेनौं, खोजेनौं । खोज्ने पनि कसरी ? हामीले देख्ने यातायातको एकमात्र विकल्पै त्यही हो । त्यसबाहेक मोटरबोटका केही अभ्यासहरु मात्र भएका छन् । रेलको रेखा त भर्खर कोरिँदै छन् । केवलकारकै कुरा गर्दा बल्ल तेस्रो केवलकार बन्दैछ । एअरपोर्ट आम जनताको सामथ्र्यभन्दा माथि छ, त्यो कुरै नगरौं ।
हुन त सडक यातायातजस्तो सजिलो, सबैले बुझेको, सबै अभ्यस्त भएको यातायात अरु छैन होला । तर जहाँ धरातल नै प्रतिकुल छ, वा भनौं, त्यो प्रतिकुलतासँग जुध्ने प्रविधि अपनाउन सक्ने, वर्षौं टिक्ने बनाउन सक्ने क्षमता, स्रोत साधन हामीसँग छैन भने हामीले यातायातका अन्य विकल्पहरु खोज्नुपर्छ । त्यो पनि सकिएन भने बरु गाउँलाई नै अलि वर सार्ने कि ?
व्यवस्थित बसोबासका लागि हजारौं मानिस बस्ने गाउँ नै सारिएका उदाहरण संसारभर छन् । हामीले एकाध दर्जन घरलाई वर ल्याउन सकिने विकल्पमा किन नसोच्ने ? त्यसैपनि अहिले गाउँ गाउँ बाटो पुगेर के गर्नु, मानिसहरु शहर पस्ने क्रम बढ्दो छ । गाउँबा बाटो पुग्यो भने पनि शहर पसेका धेरै मानिस गाउँ फर्कँदैनन् । त्यसैले गाउँ, त्यहाँको कृषि, वन सम्पदाको उपयोग गर्नेबारे अलग सोँच बनाउनुपर्छ । जसले भुसंरक्षण पनि होस्, मानिसहरुलाई सुविधा पनि होस् ।
त्यसैले सडक कालोपत्रेसँगै दंग नपरौं । गाउँमा विकास आयो भनेर मख्ख पर्दा पर्दै कालोपत्रे उप्किएर ग्राभेल भइसक्छ । कमिसनको बिटो लुछ्दा लुछ्दै गरिएका कालोपत्रेसँगै हाम्रा सपनाहरु पनि उप्किरहेका छन् ।
खोस्रिएर कमजोर बनेका पहाडमा पहिरो जान्छ र त्यो पहिरो महिनौंसम्म पन्छाइँदैन । यो हाम्रो भविष्यमा गएको पहिरो हो ।
हाम्रो देशका सरकारहरुलाई सडक बनाउन भन्दा मर्मत गर्न गाह्रो लाग्छ । यो हाम्रा समस्याहरु सरकारको प्राथमिकतामा नपरेको प्रमाण हो ।
त्यसैले कागजमा सडक बनेको रेकर्ड राखिन्छ, बिग्रेको रेकर्ड छैन । किन बिग्रियो भन्ने खोजी पनि छैन, न त मर्मत तुरुन्तै गर्ने व्यवस्था छ ।
त्यसैले त ८ घन्टामा पुगिने गन्तव्यमा पुग्न १२ घन्टा लाग्न थालेको छ । १२ घन्टामा पुगिने ठाउँ पुग्न १८ घन्टा लाग्न थालेको छ ।