इटहरी । इटहरीको पाथीभरा माध्यमिक विद्यालयले दुई दिने ‘इटहरी बालकला साहित्य महोत्सव २०८२’ गर्ने भएको छ । यही फागुन १ र २ गते महोत्सव हुन लागेको हो ।
विद्यार्थीहरूमा साहित्यप्रतिको अभिरुचि अभिवृद्धि गर्दै पठन संस्कृतिको विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सवमा सात हजार जनाको सहभागिता रहने बताइएको छ ।
दुई दिनसम्म शिक्षक, कलाकार तथा साहित्यकारद्वारा कला र साहित्यका विभिन्न विधामा कार्यशाला सञ्चालन गरिने छ । जसमा इटहरी र आसपासका विद्यालयका विद्यार्थीहरुको सहभागिता रहनेछ ।
वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, साहित्यकारहरु अनुराधा शर्मा, अनन्त वाग्ले, गितेश प्याकुरेल लगायत राष्ट्रिय स्तरमा ख्यातिप्राप्त बालसाहित्य सर्जकहरूसँगै स्थानीय साहित्यकार, कवि, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहने स्कुलका अध्यक्ष निर्मल कुमार रिजालले बताए ।
कार्यक्रम संयोजक विक्रम कुमार घिमिरेले महोत्सव बालप्रतिभालाई प्रोत्साहन गर्ने थलो बन्ने विश्वास व्यक्त गरे ।
स्कुलका प्रधानाध्यापक डा. गोपाल श्रेष्ठले महोत्सवले पठन संस्कृतिलाई मजबुत बनाउने र विद्यार्थीहरुको सर्वांगिण विकास गर्ने बताए ।
इटहरी उपमहानगरपालिकाको अभिभावकत्वमा आयोजना हुने महोत्सवमा वुकल्यान्ड काठमाडौं सह–आयोजक रहेको छ। साथै, काव्य–डबली, व्यासन कोशी प्रदेश, प्यापब्सन सुनसरी, नगर प्याब्सन इटहरी, हिसान सुनसरी, संगीत साधना प्रतिष्ठान इटहरी, कारखाना, वेदा, प्ले नेपाल र नाईसको साझेदारी तथा सहकार्य रहेको छ।
महोत्सव पाथीभरा माध्यमिक विद्यालय इटहरीको परिसरमा बिहान ९ बजेदेखि दिउँसो ३ः३० बजेसम्म सञ्चालन हुने जनाइएको छ।