काठमाडौ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार घटनाको प्रत्यक्षदर्शी भनेर टेलिभिजनमा अन्तर्वार्ता दिने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्राइम टाइम टेलिभिजनमा ऋषि धमलालाई अन्तर्वार्ता दिँदै गोरखा घर भई काठमाडौं बस्ने नवराज अर्यालले सुरक्षा दिए सबैको नाम भन्ने बताएका थिए । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हिजो उनलाई बोलाएर दिनभरि सोधपुछ गर्यो । बुधबार फेरि सिआइबीमा हाजिर हुन आउन भने पनि सम्पर्कबिहीन भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सिआइबीका सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले अर्यालले टेलिभिजनमा दाबी गरेका सबै विवरण झुटो भएको र सो विषयमा थप अनुसन्धानका लागि अर्याल दम्पती र प्रस्तोता धमलालाई सिआइबीमा ल्याइएको बताए।
अन्तरवार्ताका प्रस्तोता पत्रकार ऋषि धमला पनि सिआइबी कार्यालय उपस्थित भएका छन् । २०७५ साल साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। उनका हत्यारा पत्ता लाग्न सकेका छैनन् ।