निर्मला पन्तका बलात्कारीहरु चिन्ने दावी गर्ने व्यक्ति मिडियामा (भिडियो)

न्युजलय २८ कार्तिक २०८१, बुधबार ०७:४९ मा प्रकाशित

काठमाडौं । कञ्चनपुर‍को भीमदत्त नगरपालिका–२ मा १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ वर्ष नाघिसकेको छ । साथीको घरमा पढ्न जान्छु भनेर साइकलमा निस्केकी निर्मला भोलिपल्ट निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् ।


निर्मला पन्तको हत्याको घटनामा प्रमाण मेटाउन प्रहरी नै लागेपछि उनको न्यायको माग गर्दै निकै ठूला प्रदर्शन र आन्दोलनसमेत भए । अहिलेसम्म ६ वटा समिति बनेका छन् ।


यसबिचमा पाँच जना गृहमन्त्री फेरिएका छन् । रामबहादुर थापा ‘बादल’, बालकृष्ण खाँण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ, पुन रवि लामिछाने हुँदै हाल रमेश लेखक गृहमन्त्री बनेका छन् । हालका गृहमन्त्री लेखक निर्मला हत्या भएपछि भएको सडक आन्दोलनमा समेत सहभागी भएका थिए । तर उनै लेखक गृहमन्त्री हुँदासमेत निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ पर्न सकेका छैनन् । 


उक्त बलात्कार घटनाको आफू प्रत्यक्षदर्शी रहेको दाबी गर्दै एक जना व्यक्ति मिडियामा आएका छन् । प्राइम टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा कार्यक्रम प्रस्तोता ऋषी धमलालाई अन्तर्वार्ता दिँदै गोरखाका नवराज अर्यालले सरकारले सुरक्षा दिए आफू अपराधिको नाम भन्न तयार रहेको बताएका छन् ।


१६ जना मन्त्रीको सचिवालयमा रहेर गाडी चलाइसकेका उनी निर्मला पन्त हत्या प्रकरणको समयमा तात्कालिन खानेपानी मन्त्री बिना मगरको ड्राइभर थिए । बलात्कारको समयमा मगरसँगै आफू कञ्चनपूरमा रहेको बेलामा तीन जना मानिसले पन्तलाई बलात्कार गरेको आफूले थाहा पाएको बताएका छन् । 


उनले अन्तर्वाताको क्रममा भने, ‘मेरा पनि दुई छोरी छन् । ती नानी पनि मेरी छोरी जस्तै हुन्, न्याय पाउनुपर्छ ।’


उनले घटनामा भीआइपीको संलग्नता रहेकोले आफूमाथि तीन पटक सांघातिक आक्रमण भइसकेको बताएका छन् । उनले जीवनभर कमाएको पैसा उपचारमा सकिएको भन्दै भनेका छन्, ‘अहिले चन्दा उठाएर उपचार गरिरहेको छु, मलाई केही चाहिँदैन, ती नानीले न्याय पाए हुन्छ ।’ उनले आफ्नो ज्यानको सुरक्षाका लागिसमेत सहयोग मागेका छन् । 

उनले तीन जनामध्ये एक जना कन्चनपुरकै र दुई जना बाहिरको रहेको संकेत दिएका छन् । घटनाबारे आफूले पछि थाहा पाएको बताउँदै आफ्नो ड्राइभिङ लाइसेन्ससमेत नक्कली भएको र माथिको आदेश भन्दै नवीकरण नगरिदिएको बताएका छन् ।