झुम्का कारागारमा भाइरल संक्रमणकै कारण कैदीको मृत्यु भएको पुष्टि

न्युजलय २० भदौ २०८२, शुक्रबार १२:५० मा प्रकाशित

इटहरी । सुनसरीको झुम्का कारागारमा १५ दिनको अवधिमै चारजना कैदीको मृत्युको कारण ‘भाइरल इन्फेक्सन’ रहेको पुष्टि भएको छ। 

भाइरल संक्रमणसँगै अधिकांशमा  एन्जाइटी देखिएको छ। एकैपटक सो संख्यामा कैदीको मृत्यु हुनु र ठूलो संख्यामा कैदी बिरामी परेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आकस्मिक स्वास्थ्य टोली परिचालन गरी स्वास्थ्य परीक्षण गरेको थियो। परीक्षण  रिपोर्टअनुसार कैदीहरूको मृत्युको कारण भाइरल इन्फेक्सन रहेको पुष्टि भएको हो।

सुनसरीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्र र एसपी सुमनकुमार तिम्सिनासहितले बुधबार साँझ  कैदी बिरामी भएको र स्वास्थ्य परीक्षणका लागि बीपी प्रतिष्ठानलाई जानकारी गराएका थिए। कारागारमा करिब एक सय जना कैदीलाई ज्वरो, जिउ दुख्ने, नाक बन्द हुने र श्वास फेर्न समस्या देखिएको जानकारी प्रतिष्ठानलाई गराएपछि चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली कारागार पुगेर परीक्षण तथा उपचार सुरु गरेको थियो।

कारागारमा रहेका एक हजार सात सय ९३ जना कैदीमध्ये तीन सय ५३ जनाको परीक्षण गरिएको थियो। तत्काल परीक्षणमा करिब एक सय जनामा उच्च ज्वरो देखिएको र ३५ जनाको मलेरिया परीक्षण गर्दा दुईजनामा पोजिटिभ देखिएको बताइएको छ ।

झुम्का कारागारमा पछिल्ला १५ दिनमा चार कैदीको मृत्यु भएपछि स्वास्थ्य जाँच गरिएको थियो। यसअघि भदौ ४ गते भोजपुरका २८ वर्षीय विकास राई, भदौ १५ गते सुनसरीको गढी–६ का ४८ वर्षीय रामदेव उराँव र भदौ १६ गते धरान–१० का २४ वर्षीय सागर राईको मृत्यु भएको थियो।

गएको बुधबार साँझ सप्तरीको राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको उपचारका क्रममा मृत्यु भएको थियो। लगातार बढ्दो मृत्यु र स्वास्थ्य समस्या बढ्दै गएपछि कैदीहरूको स्वास्थ्य परीक्षण गरिएको हो।