धरानमा श्रमदानका क्रममा बालिकामाथि यौन दुर्व्यवहार, एकजना पक्राउ

न्युजलय २० असार २०८२, शुक्रबार १२:०९ मा प्रकाशित

धरान । मेयर हर्क साम्पाङको नेतृत्वमा धरान–१६ मा भएको श्रमदानका बेला बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

१२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ४९ वर्षीय खगेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको हो । पीडितका परिवारले खगेन्द्रविरुद्ध किटानी जाहेरी दिएका छन् ।

किटानी जाहेरीपछि धरान–१७ पृथ्वीचोकका राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । धरान बहुभाषिक पाठशाला निर्माणको श्रमदान चलिरहेको बेला बालिकामाथि यौन दुर्व्यवहार गरेको राईमाथि आरोप छ ।

पक्राउ परेका राई श्रमदाताहरूलाई खाना पकाउने काममा खटिएका थिए । बालिका आफ्नी आमासँग श्रमदानमा आएकी थिइन् । त्यही क्रममा राईले बालिकालाई फकाएर खोल्सातिर लगी हातपात गर्न खोजेको आरोप छ । घटना भएको बेला मेयर भने थिएनन् ।

पीडकलाई भगाउन सहयोग गरेको भन्दै अन्य दुईजनाविरुद्ध पनि किटानी जाहेरी परेको छ । श्रमदाता कुन्दन श्रेष्ठ र समीर तामाङविरुद्ध किटानी जाहेरी परेको प्रहरीले जनाएको छ । घटनाको दिन राईलाई पीडितकी आमाले कुटपिटसमेत गरेकी थिइन् ।