ब्लास्ट टाइम्स राष्ट्रिय दैनिक ३१ औँ वर्षमा प्रवेश

न्युजलय २ असोज २०८२, बिहिबार ०९:२३ मा प्रकाशित

धरान । सुनसरीको धरानबाट प्रकाशनमा रहेको ब्लास्ट टाइम्स राष्ट्रिय दैनिक ३१ औँ वर्षमा प्रवेश गरेको छ । वि.सं. २०५२ साल असोज २ गतेदेखि सुरु भएको यो पत्रिकाले तीन दशक लामो यात्रा सम्पन्न गरेको हो ।


सत्य, निष्पक्ष र पारदर्शी सूचनाको अभियानलाई निरन्तरता दिँदै सुनसरीको धरानबाट पत्रिका प्रकाशन सुरु भएको थियो । धरानमा वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्थापित गर्ने अभियानको क्रममा स्थापना भएको यो पत्रिका पूर्वमै राम्रो वितरण र व्यवस्थापन रहेको पत्रिका हो । 


पत्रिकाको वार्षिकोत्सवका अवसरमा सञ्चालक एवम् महाप्रबन्धक सुनिल अधिकारीले सहयोगीहरुलाई धन्यवाद दिएका छन् । उनले चुनौतिहरुलाई चिर्दै अघि बढ्न आफूहरु तत्पर रहेको बताउँदै आगामी दिनमा अझ सशक्त तरिकाले ब्लाष्ट दैनिक अघि बढ्ने बताए । 


मिडिया जस्तो चुनौतीपूर्ण क्षेत्रमा सम्पादकीय स्वतन्त्रता र व्यवसायिक दिगोपनाबीचको सन्तुलन कायम गर्दै अघि बढ्नु सजिलो नभए पनि प्रगतिशील सोच र दृढ नेतृत्वका कारण ब्लास्ट टाइम्स सफल यात्रामा रहन सफल भएको बताए । आफ्नो १५ वर्षको उमेरदेखि नै ब्लाष्टमा आबद्ध रही हाल महाप्रबन्धकको जिम्मेवारीमा रहेका अधिकारीले भने, '३१ वर्ष लामो यात्रासँगै पत्रिकाले आगामी दिनमा अझ प्राविधिक सबलता, विचारको गहिराइ र समाजप्रतिको उत्तरदायित्वसहित निरन्तर पाठकको प्रिय बन्ने प्रतिबद्धता जनाउँदछौं ।