घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका स्थित घोडेटारमा आँखाका बिरामीहरुका लागि शिविर सञ्चालन हुने भएको छ ।
नोपल नेत्र ज्योति संघ भोजपुरको आयोजना तथा हतुवागढी गाउँपालिकाको व्यवस्थापन सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा दुई दिने आँखा शिविर सञ्चालन हुन लागेको हो ।
वैशाख २७ र २८ गते हुने उक्त शिविरमा आँखाको जाँच तथा शल्यक्रियाको लागि विराटनगर आँखा अस्पतालका विशेषज्ञ टोली आउने भएका छन् । शिविरमा आँखाको सम्पूर्ण रोगको जाँच तथा उपचार, आँखामा मोतिविन्दु र मासु पलाएको निशुल्क शल्यक्रिया लगायतको सेवा प्रदान गरिने प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारका नेत्र सहायक नरेन्द्र चौधरीले जानकारी दिए ।
यहाँका अधिकांश बिरामी आँखामा आएको समस्या समाधानका लागि शहरका आँखा अस्पताल तथा आँखासम्बन्धी सेवा दिने क्लिनिक पुग्ने गर्दछन् । स्थानीय तहले नियमित शिविर सञ्चालन गर्दा नागरिकलाई केही सुविधा पुगेको देखिन्छ।