इटहरी । इटहरीमा सोमबार भएको जेन्जी आन्दोलनको एउटा निशाना इटहरीका मेयरसमेत थिए । युवाहरुले मेयर हेमकर्ण पौडेलविरोधी नारामात्र लगाएनन्, पौडेलको घरसमेत घेर्न पुगे ।
इटहरी चोकमा भेला भएर उपमहानगरपालिका घेराउ गर्न पुगेका युवाहरुले नगर बस सेवा कि स्क्याम भन्दै प्रश्न गरेका थिए । उनीहरुले नगरबस खरीदमा भ्रष्टाचार भएको, विकासका कामहरु नभएको, सवारी साधन किनेर करोडौं सकेको र विलासी जीवन बाँचेको भन्दै विरोध जनाएका थिए । देशको मेयर कि विदेशको भन्दै प्रश्न गरेका थिए ।
केही समय उपमहानगरपालिका अगाडी उभिएर नाराजुलुस गरेका उनीहरुलाई प्रहरीले रोकेको थियो । तर भीड रोक्नै नसकिने भएपछि प्रहरीले छाडिदियो । युवाहरु उपमहानगरपालिका भित्र पसेर दमकल, टिपरलगायत त्यहाँ भेटिएजति निजी र सरकारी नम्बर प्लेटका गाडीहरु तोडफोड गरे भने पहिलेदेखि निशानामा रहेको मेयर पौडेलको कार्यकक्षमा आगो लगाए ।
त्यसअघि उनीहरुले पौडेलको कार्यकक्षभित्र रहेका फर्निचरहरु बाहिर ल्याएर आगो लगाएका थिए ।
उपमहानगरपालिका भित्र तोडफोड र आगजनीपछि युवाहरुको समुह उनीबस्ने घर घेर्न पुगेको थियो । त्यहाँ पहिले नै तैनाथ सुरक्षाकर्मीले उनीहरुलाई लखेटेका थिए ।
साँझ मेयर पौडेलले विज्ञप्ती निकाल्दै विद्यार्थीको आन्दोलन अराजकतातर्फ उन्मुख भएको बताउँदै तीन दिन नगरपालिका भित्रका स्कुल, वडा कार्यालयलगायत बन्दको घोषणा गरेका छन् ।