विराटनगर । विराटनगरमा भएको सवारी दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ।
विराटनगर महानगरपालिका–३ स्थित पञ्चेश्वर मन्दिर अगाडि को १ क ९५३ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा पछाडि सवार सुन्दरहरैँचा–१२ का ४८ वर्षीय सुशील बजगाईंको मृत्यु भएको हो।
दक्षिणबाट उत्तरतर्फ गइरहेको टिपरले सोही दिशामा जाँदै गरेको प्र १–०२–०४८ प ३७८१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
गम्भीर घाइते अवस्थामा रहेका बजगाईंलाई उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषित गरेका थिए।
स्कुटर चालक उनका २० वर्षीय छोरा प्रितम बजगाईं सकुशल रहेका छन्।
दुर्घटनापछि टिपर चालक मोरङको कानेपोखरी–३ का ३३ वर्षीय कूलदीप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।