रास्वपा भन्छ, ‘करवृद्धिको विषयमा नागरिक समाज मौन’, समाज भन्छ, ‘आफ्नो भूमिका निभाइरहेका छौं’

न्युजलय १७ भदौ २०८०, आइतबार ०६:०० मा प्रकाशित

इटहरी । इटहरीमा भएको कर वृद्धिको विषयमा इटहरीको नागरिक समाज मौन रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले आरोप लगाएको छ ।

रास्वपा नेता मनु मन्जिलले इटहरी उपमहानगरले जनतालाई ढाड सेक्नेगरी बढाएको भूमिकरको विषयमा नागरिक समाज मौन भएको आरोप लगाएका हुन् ।

आइतबार उपमहानगरअगाडि ‘सचेत नागरिक इटहरी’को ब्यानरमा गरिएको कार्यक्रममा मन्जिलले नागरिक समाजले सही समयमा सही आवाज उठाउन आवश्यक भएको बताएका छन् ।

करवृद्धिको विषयमा सबै पार्टीहरुले समेत बोल्नुपर्ने बताउँदै भने, ‘जनतालाई समस्या परेका बेलामा जनताका प्रतिनिधिहरुले आवाज उठाउन सक्नुहुन्न भने तपाईहरु जनप्रतिनिधि हुन सक्नुहुन्न ।’

नागरिक समाज इटहरीका संस्थापक अध्यक्ष प्रा.डा. बद्रीविशाल पोखरेलले पनि कार्यक्रममा सम्बोधन गरेका थिए । उनले जनताको भावना विपरीत कर वृद्धि भएको भन्दै तुरुन्त समायोजन गर्न माग गरे । 

रास्वपाले २५ दिनदेखि कर वृद्धिको विरोधमा उपमहानगरपालिका अगाडी धर्ना दिँदै आएको छ । आइतबार भने फरक ब्यानरमा कार्यक्रम गरेको हो । रास्वपाले कार्यक्रम गरेपनि सचेत नागरिक इटहरीको नामबाट होमराज दाहालले अतिथीहरुलाई बोलाएका थिए । 

‘पार्टीको ब्यानरबाट कार्यक्रम गर्दा अतिथीहरुलाई आउन र बोल्न समस्या हुन्छ भनेपछि यसरी बोलाइएको हो,’ दाहालले भने, ‘तर नागरिक समाज इटहरी, उद्योग वाणिज्य संघलगायत धेरै नेताहरु आउनुभएन ।’


आफ्नो भूमिका निभाइरहेका छौं : नागरिक समाज

नागरिक समाज इटहरीकी अध्यक्ष बालिका भट्टराईले भने आफूहरुले इटहरी उपमहानगरपालिकालाई बारम्बार ध्यानाकर्षण गराइरहेको बताएकी छिन् । उनले आइतबार मात्रै पनि पुनः स्मरण पत्र उपमहानगरपालिकालाई बुझाएको बताएकी छिन् ।

‘साउन १६ गते पनि कर वृद्धि धेरै भयो, नगरवासीलाई समस्या भयो भनेर उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएका थियौं,’ उनले भनिन्, ‘फेरी पनि ध्यानाकर्षण गराएका छौं ।’

नागरिक समाज इटहरीको भुमिकाको खोजि हुनु सकारात्मक पक्ष भएको उनको धारणा छ । धर्ना, जुलुस तथा आन्दोलनका कार्यक्रमहरु नागरिक समाजले गर्नुपर्छ भन्ने आशयले अभिव्यक्तिहरु आउने गरेको बताउँदै उनले भनिन्, ‘नागरिक समाजले राजनीतिक दलले जसरी काम गर्दैन बरु, समस्याहरुमा साझा धारणा बनाउने र समन्वय गर्ने काम गर्छ ।’

समाजले नगरप्रमुखलाई भेटेर समस्या समाधानका लागि पहल गरेको, ज्ञापनपत्र दिएको र फेरी स्मरणपत्र दिएको बताउँदै भनिन्, ‘आगामी दिनमा पनि रचनात्मक तरिकाले दबाबमुलक कार्यक्रमहरु गर्ने योजना छ, उपमहानगरपालिकाले बनाएको समितिको प्रतिवेदन पनि कुर्दैछौं ।’


इटहरी उपमहानगरपालिले वृद्धि गरेको करको विरोधमा प्रतिनिधिसभामा चौधरीले उठाए आवाज

कर तथा दस्तुर समायोजन गर्न पुर्व उपमेयरको सुझाव

इटहरीको कर घटाउन एमालेको अल्टमेटम, भन्यो, ‘उत्पन्न परिस्थितीको जिम्मेवार नगरप्रमुख’

कर विवाद समाधान गर्न उवासंघ इटहरीको पहल, उपमहानगरपालिकासँग छलफल गर्ने

के हो इटहरीको सम्पत्ती कर विवाद ? (भिडियो)