इटहरी । नागरिक समाज इटहरीले कर घटाउनको लागि दोस्रो पटक उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएको छ । एक महिनामा दोस्रो पटक उपमहानगरपालिकालाई पत्र लेख्दै कर घटाउन आग्रह गरेको हो ।
नागरिक समाजकी अध्यक्ष बालिका भट्टराईले उपमहानगरपालिकालाई स्मरणपत्र लेख्दै आफूले यसअघि नै दिएको ध्यानाकर्षणबारे स्मरण गराएकी हुन् ।
‘गत श्रावण १६ गरेका दिन ध्यानाकर्षण पत्र दिएपनि हालसम्म कुनै आधिकारिक धारणा उपमहानगरको तर्फबाट नआएको र करसमेत समायोजन नगरिएपछि नागरिक समाजको भूमिकामा समेत शंशय राखी नगरवासीबाट देखाइएको चासोप्रति गम्भिर ध्यानाकर्षण भएको छ,’ पत्रमा भनिएको छ, ‘वृद्धि भएको कर यथासिघ्र पुनर्बिचार गरी आर्थिक संकटमा परेका आफ्ना जनताको मार्का र भावनाको कदर गर्दै स्थानीय सरकारले समायोजन गरोस् भन्ने आग्रह इटहरी उपमहानगरपालिकासँग गर्दछौं ।’
समाजले आइतबार बिहान इटहरी उपमहानगरपालिकालाई स्मरण पत्र बुझाएको हो ।
यसबाहेक आफूहरु विभिन्न राजनीतिक दल तथा उपमहानगरपालिकासँग कर समायोजनका लागि निरन्तर संवादमा रहेको अध्यक्ष भट्टराईले बताएकी छिन् ।