सुनसरीमा तस्करको समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो

न्युजलय १२ जेठ २०८२, आइतबार १२:५४ मा प्रकाशित

इटहरी । सुनसरीमा तस्करको समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।

बराहक्षेत्र नगरपालिका–३ स्थित कालिन्द्र सामुदायिक वन क्षेत्रमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ड्युटीमा खटिएको प्रहरीले शनिबार साँझ गोली चलाएको हो।

प्रहरी टोलीलाई देख्ने बित्तिकै वनभित्र बोरा बोकी आइरहेको समूह भागेको थियो । उनीहरूलाई नियन्त्रणमा लिनका लागि गोली चलाएको सुनसरी प्रहरीले जनाएको छ।

बराहक्षेत्र ३ का ५५ वर्षीय रामप्रसाद लिम्बूले धारिलो हतियार खुकुरी निकालेर प्रहरी टोलीलाई प्रहार गर्न खोजेपछि एक राउण्ड गोली हानेको प्रहरीले जनाएको छ । 

घटनास्थलबाट घरेलु हतियार खुकुरी एक थान, रुख काट्ने गिडुवा आरा एक थान, तिखो खन्ती एक थानसमेत बरामद गरिएको छ।