विराटनगरमा आफूलाई प्रहरी बताएर लुट्ने समूहमा वाईसीएल कार्यकर्ता पक्राउ

न्युजलय १९ असार २०८२, बिहिबार १२:५२ मा प्रकाशित

विराटनगर । आफूलाई प्रहरीले बताएर लुटपाट गरेको आरोपमा विराटनगरमा नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन वाईसीएलका पूर्वसदस्य कुशल पाण्डे पक्राउ परेका छन् ।

प्रहरीका अनुसार, उनीमाथि विराटनगरमा पछिल्लो समय हुने गरेका लुटपाटका घटनामा संलग्न रहेको आरोप लागेको छ । पाण्डे यसअघि पनि विभिन्न आपराधिक घटनामा समेत मुछिने गरेका थिए ।

विराटनगर–११ का २६ वर्षीय पाण्डेलाई मोरङ प्रहरीले बुधबार पक्राउ गरेको हो । प्रहरीले उनीविरुद्ध अपहरणसहित चोरी तथा डाँकासम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी गरेको छ ।

घटनामा संलग्न अन्य दुईजना समीर हुसेन र आशिव अन्सारीलाई प्रहरीले आइतबार नै पक्राउ गरेका थिए । पाण्डे फरार थिए । हुसेन विराटनगर–८ र अन्सारी विराटनगर–६ निवासी हुन् ।

असार ११ गते बिहान आफूलाई प्रहरी बताउने एक समूहले विराटनगर–१५ का २० वर्षीय विक्रमकुमार साह तेलीलाई अपहरण गरेको थियो । उनको साथबाट नगद रकम लुटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, घटना गम्भीर भएकाले विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।