बम राखेको हल्ला फैलाउने दुई जना तीन महिनापछि पक्राउ

न्युजलय २१ चैत २०८१, शुक्रबार १२:३८ मा प्रकाशित

इटहरी । गत पुस १६ गते इटहरी उपमहानगरअघि, बूढीखोला र धरानको भोटेपुल नजिकै बम राखेको भन्दै हल्ला फैलाउने दुई जनालाई प्रहरीले तीन महिनापछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१ का ४७ वर्षीय सञ्जय भनिने खगेन्द्र खरेल र इटहरी–४ की ३६ वर्षीया लक्ष्मीदेवी थापा छन् । उक्त घटनामा संलग्नलाई प्रहरीले तीन महिनापछि पक्राउ गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार ९८१४३४७२९० मोबाइल नम्बरबाट म्यासेज गरी बम रहेको भन्दै प्रहरीलाई सूचना दिएका थिए ।

खोजी गर्ने क्रममा प्रहरीले तीन महिनापछि फेला पारेर नियन्त्रणमा लिएको हो ।

बम राखेर सर्वसाधारणलाई आतंक फैलाएर फरार रहेका दुवै जनालाई सुनसरीको कोशी गाउँपालिका–८ स्थित भण्टाबारीमा लुकिछिपी बसेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।