इटहरी । कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ घोषणा गरेसँगै प्याराग्लाइडिङ उडान र सप्तकोशीमा राफ्टिङ परिक्षण र अनुगमन गरिएको छ ।
मंगलबार प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयको टोलीले उदयपुर स्थित बेलकामा प्याराग्लाइडिङ उडान गरेको हो । उदयपुरको गाइघाट, मोरङ र पोखराबाट उपस्थित पर्यटनकर्मीहरुको साथमा बोपताङ डाँडाबाट उडाइएको ७ वटा प्याराग्लाइडिङ सप्तकोशी किनारमा अवतरण गरिएको थियो ।
प्याराग्लाइडिङ स्थलमा पुगेका मन्त्रालयका कर्मचारीको स्वागत गर्दै बेलका नगरपालिकाका उपप्रमुख जिरा राईले बेलकाको पर्यटन विकासमा प्याराग्लाइडिङको सम्भावना उल्लेख्य रहेको बताइन् । उपप्रमुख राईले कोशी किनारमा प्याराग्लाइडिङ अवतरण क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक रहेकाले नगरपालिकाले आवश्यक काम अघि बढाएको र आवश्यक सहयोग गर्नको लागि सरोकारवाला निकायमा समन्वयको माग गरिन् ।
यसका साथै बराहक्षेत्रदेखि चतराघाटसम्म र्याफ्टिङ गरिएको छ । पर्यटनको प्रचुर संभावना बोकेको कोशी प्रदेशको सप्तकोशी नदीमा सहासिक खेल र्याफ्टिङ्गको संभावना बढ्दै गएकोले प्रवद्र्धन गर्न परीक्षण गरिएको हो । बढ्दै गएको गर्मी छल्न र रमाइलो समय बिताउनका लागि र्याफ्टिङ्ग लोकप्रिय बन्दै गएको छ ।
भ्रमण वर्ष २०८२ अन्तर्गत प्याराग्लाइडिङ, राफ्टिङ लगायतका साहसिक यात्राको प्रवर्द्धनका लागि स्थलगत अवलोकन तथा परिक्षण गरिएको कार्यक्रम संयोजक देवि गौतम रविनले जानकारी दिए ।
त्यस्तै बुधबार कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाइ सम्मान नाराको साथ ‘कोशी प्रवद्र्धन साइकल राईड सम्पन्न’ गरिएको छ । पूर्वका झापा, मोरङ र सुनसरीका विभिन्न ठाउँबाट उपस्थित ५० जना साइकल यात्रीको सहभागितामा इटहरीको रंगशाला देखि तरहरा चौक हुँदै रासा ताल सम्म साइकल यात्रा आयोजना गरिएको हो ।
प्रदेश सरकाले गरेको घोषणा अनुरूप पर्यटन वर्षको औपचारिक शुभारम्भ यही २०८१ साल चैत्र २७ गते तेरथुम जिल्लाको तीनजुरे मिल्के जलजले क्षेत्रस्थित लालीगुराँस नगरपालिका, आर आर गार्डेनमा गरिने भएको छ। त्यसका लागि ‘रमणीय कोशी’ भन्ने सन्देश तय गरिएको छ ।