झापा । झापामा चालु आर्थिक वर्षको फागुनसम्म क्षयरोगका ७०० नयाँ बिरामी भेटिएका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार उक्त अवधिमा २५ जना बिरामीको मृत्यु भएको छ । कार्यालयका अनुसार गत आवमा क्षयरोगका कारण मृत्यु हुनेको सङ्ख्या ४८ थियो ।
कार्यालयका अनुसार ४७१ जनाको फोक्सोमा क्षयरोग देखिएको छ भने फोक्सोबाहेकमा १६२ जना, टिबी र एचआइभी दुवै भएका आठ जना, औषधि प्रतिरोधी क्षयरोगका बिरामी १६ जना छन् ।
स्वास्थ्य कार्यालय झापासँगै १५ वटा स्थानीय तहअन्तर्गतका ७९ वटा स्वास्थ्य संस्थामा क्षयरोगको निःशुल्क उपचार, निःशुल्क खकार परीक्षणका लागि २२ वटा माइक्रोस्कोपिक केन्द्र, तीन वटा जिनएक्स्पर्ट केन्द्र र डिआरटीबीको बिरामीका उपचारका लागि चार वटा सब डिआर सेन्टरको व्यवस्था छ ।
औषधि सेवनको अवधि पूरा गर्ने विपन्न वर्गका बिरामीलाई प्रोत्साहन मासिक ५०० दिने गरिएको छ । सङ्घीय कार्यक्रमअन्तर्गत झापाको तीन वटा पालिका शिवसताक्षी, बिर्तामोड र मेचीनगर नगरपालिकामा क्षयरोगमुक्त अभियान समेत सञ्चालित छ ।