पाकिस्तानमा बलात्कारीलाई नपुंसक बनाउने विधेयक पारित

न्युजलय ३ मङ्सिर २०७८, शुक्रबार ०८:२६ मा प्रकाशित

एजेन्सी । पकिस्तानमा बलात्कारीलाई नपुंसक बनाउने कानुन पारित भएको छ। बुधबार पाकिस्तानको संसदले बलात्कारसँग जोडिएको नयाँ विधेयक पारित गरेको हो।

पछिल्लो समय बलात्कारका घटना बढेपछि नियन्त्रण गर्नको लागि पाकिस्तानले नयाँ विधेयक पारित गरेको हो । पाकिस्तानमा गत वर्ष बलात्कारका दोषीलाई नपुंसक बनाउने विषयमा एक अध्यादेश पनि ल्याइएको थियो । जसलाई बुधबार संयुक्त सत्रमा पारित गरिएको हो । 

नियमअनुसार अदालतले कानुनी प्रक्रिया पूरा गरेर सजाय सुनाएपछि एक मेडिकल बोर्डले मानिसलाई आजीवन यौन सम्पर्क गर्न नसक्ने बनाउनेछ । यद्यपि पाकिस्तानको कट्टर इस्लामिक समूहले भने यो नियमको विरोध गरेको छ । जमात ए इस्लामी पार्टीले भने यो नियम इस्लामविरोधी रहेको बताएको छ। 

पाकिस्तानअघि सन् २०१६ मा इन्डोनेसियाले बालबालिकामाथि यौन अपराध गर्नेलाई अपुंसक बनाउने व्यवस्था गरेको थियो । सन् २००९ मा पोल्याण्डले पनि यस्तै नियम ल्याएको थियो। अमेरिकाका केही राज्यमा पनि यस्तो नियम छ।