दुहबीमा बस र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा इटहरीकी श्रीमायाको मृत्यु

न्युजलय ६ फाल्गुण २०८१, मङ्गलबार ११:२६ मा प्रकाशित

इटहरी । सुनसरीको दुहबीमा बस र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा इटहरीकी एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी –५ की ५० वर्षीया श्रीमाया बुढाथोकी रहेकी छन् ।

दुहबी नगरपालिका–८ हुलास फ्याक्ट्रीअगाडि सोमबार इटहरीतर्फ आउँदै गरेको को १ ख ७०२३ नम्बरको चन्द्रमा यातायातको बसले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०२–०५६ प ५५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार बुढाथोकीको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक श्रीमायाका छोरा २१ वर्षीय नवराज बुढाथोकी गम्भीर घाइते भएका छन् । उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ ।

दुर्घटनापछि प्रहरीले बस चालक धरान उपमहानगरपालिका–८ का ३९ वर्षीय बुद्धि तामाङलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान सुरू गरेको छ ।