विराटनगर । मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीमा बिहीबार बिहान बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् ।
आज बिहान इटहरीबाट भैरहवा जाँदै गरेको लु २ ख ५९९ नम्बरको बस सडकबाट १० मिटर तल खस्दा १६ जना यात्रु घाइते भएका हुन्। ती यात्रु सबैको पहिचान खुलेको मकवानपुर प्रहरीले जानकारी दिएको छ।
घाइते हुनेमा सुनसरी धरान नगरपालिका–१७ का ३९ वर्षीय खडक विक, बराहक्षेत्र नगरपालिका–२ का १५ वर्षीय सुदीप काफ्ले, बराहक्षेत्र नगरपालिका–३ का ३४ वर्षीय विसन धामी, विराटनगर महानगरपालिका–६, की २४ वर्षीया पूजा राई र उदयपुरको बेला नगरपालिका–१ की ३० वर्षीया पूजा बस्नेत रहेकी छन् ।
यस्तै नवलपरासीको कावासोती नगरपालिका–४ की १६ वर्षीया इशा महतो, सिराहाको धनगढीमाई नगरपालिका–६ निवासी ६८ वर्षीय राम चन्द्र महतो, , भारत घर भई हाल भैरहवा बस्ने २२ वर्षीय महोमत गुल्सेर, भारत घर भई हाल भरतपुर महानगरपालिका–१ पुल्चोक बसोबास गर्ने २५ वर्षीय सौरभ मण्डल लगायतका यात्रु घाइते भएका छन् ।
उनीहरू चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचाररत छन्। घाइतेमध्ये केहीको अवस्था सामान्य छ भने अधिकांशको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।