इटहरीमा लोकतन्त्र, प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिताको पक्षमा ऐक्यबद्धता सभा

न्युजलय ६ साउन २०८२, सोमबार १२:४६ मा प्रकाशित

इटहरी । नेपाल पत्रकार महासंघ सुनसरीको आयोजनामा लोकतन्त्र, प्रेस स्वतन्त्रता, र व्यावसायिक पत्रकारिताको पक्षमा ऐक्यबद्धता सभा आयोजना गरिएको छ।

आइतबार साँझ इटहरीको संगीत चोकमा आयोजित सभामा सञ्चारकर्मी, नागरिक समाज, शिक्षासेवी, साहित्यकार, कलाकार, राजनीतिक दलका प्रतिनिधि, मानव अधिकारकर्मी लगायत विभिन्न पेशागत क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा  वक्ताहरूले पत्रकारिता क्षेत्रको मर्यादा र व्यावसायिकतालाई जोगाउन सञ्चारकर्मीहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।

उनीहरूले पत्रकारहरूलाई निष्पक्ष, सत्य र जिम्मेवार पत्रकारिताका लागि प्रोत्साहित गर्ने वातावरण निर्माणमा सरोकारवालाहरूको सहयोग अपरिहार्य रहेकोसमेत बताए।

 इटहरीका मेयर हेमकर्ण पौडेलले पत्रकार प्रति गरेको टिप्पणीको विरुद्ध नेपाल पत्रकार महासंघ सुनसरीले सडक आन्दोलन सुरु गरेको हो ।

मेयर पौडेललाई ध्यानाकर्षण पत्र बुझाएर  माफी माग्न आग्रह गर्दा पनि उनले टिप्पणीको पुष्टि गर्न नसकेपछि महासंघले इटहरीको सङ्गीत चोकमा  ऐक्यबद्धता सभा आयोजना गरेको हो ।